
पोखरा – साहसिक पर्यटकलाई लक्षित गर्दै पोखरामा ‘सावर बन्जी’ सुरु भएको छ। हाइग्राउन्ड एड्भेन्चर्स नेपालले बुधबारदेखि हेम्जामा ‘सावर बन्जी’ को सुरुवात गरेको हो।
२०१४ नोभेम्बरमा हेम्जामा बन्जी सञ्चालन गर्दै साहसिक पर्यटनमा जग बसालेको हाइग्राउन्डले सञ्चालन गरेको ‘सावर बन्जी’ नेपालमै पहिलो हो।
सावर बन्जीमा बन्जी गर्दा पानीको फोहोराले थप रोमाञ्चित बनाउनेछ। ८२ मिटर उचाइबाट हाम फालेको पर्यटकले पानीको फोहोरामा फरक अनुभव लिन पाउने हाइग्राउण्ड एडभेन्चर्स नेपालका सञ्चालक दिनेश महर्जनले बताए। उनका अनुसार झण्डै २० मिटर उचाइसम्म पानीकोे फोहोराको मजा लिने पाइनेछ।
‘फेरिक एकपटक साहसिक पर्यटनको क्षेत्रमा नयाँ प्रडक्ट ल्याएको छौं’, महर्जनले भने। एक दिनमा ६० जनासम्मले सवार बन्जीको अनुभव लिन सक्नेछन्। सवार बञ्जीका लागि ६ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ। पर्यटकले तिरेको शुल्कबाट फोटो भिडियो र टिसर्ट दिइनेछ। लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा पर्यटकले पाउनेछन्।
हाइग्राउण्डले १२ वर्ष पहिले जीपलाइनमार्फत पोखरामा साहसीक पर्यटनको सुरुवात गरेको हो। पोखराको सराङकोट डाँडाबाट हेम्जाको फाँट पुग्ने गरेर सुरु भएको जीपलाइन विश्वकै भिरालो र छिटो सकिनेमध्यमा पर्छ।
विश्वकै दोस्रो लामो जिपलाइनमा दुई वर्ष पहिले सुपरम्यान जिपलाइनसमेत सुरु भएको छ। बञ्जीसँगै जायन्ट स्वीङ र एटिभीको मज्जा पनि पर्यटकलाई दिइरहेको छ।
साहसीक पर्यटनमा ५० करोड लगानी पुगेकोे हाइग्राउण्ड एडभेन्चर्सले जनाएको छ। सावर बञ्जीका लागि थप ५० लाख रुपैयाँ लगानी थपेको हो।
बुधबार पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले सावर बन्जीको उद्घाटन गरे। पर्यटनको राजधानी पोखरालाई नयाँ नयाँ पर्यटन पूर्वाधारको आवश्यक रहेको श्रेष्ठको भनाइ छ। उनले साहसिक पर्यटक बढिरहेकाले लगानी बढाउन आवश्यक रहेको बताए।