
मुगु – जिल्लाको पश्चिम–उत्तरमा अवस्थित सोरु गाउँपालिका–३ भिई गाउँकाे गुरा मन्दिर संरक्षणको पर्खाइमा छ।
१३ औँ शताब्दीदेखि मानिँदै र पूजाआजा गरिँदै आएको गुरा देउताको मन्दिरको जीर्णाेद्धार नहुँदा स्थानीय चिन्तित भएका छन्।
उक्त मन्दिरका धामी परे धामीका अनुसार मन्दिर एक तले घर शैलीमै रहेको र बर्खामा पानी चुहिँदा मूर्ति र घण्ट खिया लाग्नुका साथै असुरक्षित हुन थालेको छ।
मन्दिर जीर्ण भएकै कारण पूजापाठ गर्न र मेला पर्वमा धामी नाच्नसमेत कठिन हुने गरेको सोरू भिई गाउँका स्थानीय करनकुमार शाहीले जानकारी दिए।
उनले धार्मिक एवं ऐतिहासिक महत्वको यस थानको संरक्षण एवं जीर्णोद्धारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। मन्दिरको नाममा २५ वर्गमिटर जग्गा भए पनि बजेट अभावले जीर्णोद्धार गर्न नसकिएको पुजारीले सुनाए। ‘जिल्लाभरिका धेरै मठमन्दिर बने तर यो बन्न सकेन’, भिई गाउँका दलबीर कार्कीले भने।
सोरु गाउँपालिका–३ भिई गाउँका वडाध्यक्ष सिंहबहादुर धामीले भने पुरातत्व विभाग, संघ र प्रदेशमा बारम्बार बजेट माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे।
उनले भने, ‘वडाको न्यून बजेट स्थानीयको आवश्यकतामै सकिन्छ, मन्दिर जीर्णोद्धार गर्न कम्तीमा ७५ देखि ८० लाख बजेट चाहिन्छ।’
भिई गुरा देउताको मन्दिरमा अहिले डेढ दर्जनभन्दा बढी धामी–डाङ्ग्री भइसकेका छन्।
भिई गुरा देउताको मन्दिरमा हरेक दिन पूजापाठ भक्तजनबाट भेटी, बोका चढाउने गरिए पनि विशेष गरी असोज–कात्तिकमा पर्ने नवमीमा ठूलो मेला लाग्ने गर्छ।
उक्त मेलामा धामी नाच हेर्न र पूजापाठ गरी वरदान माग्न बाजुरा, हुम्ला, जुम्ला, अछाम, दैखेल, सुर्खेत, बाँके, बर्दिया, कैलालीलगायतबाट भक्तजन आउने गर्छन्। पछिल्लो समय सोरू गाउँपालिका सडक सञ्जालमा जोडिए पनि प्रचार प्रसार र संरक्षण अभावमा उक्त गुरा देउताको थान ओझेल पर्दै आएको हो।