
इरानको सेनाले इजरायलमाथि ड्रोन हमला सुरु गरेको छ। इरानले करिब २०० ड्रोन र मिसायल आक्रमण गरेको जनाइएको छ। इरानी सेनाले शनिबार अबेर रातिबाट इजरायलमा आक्रमण सुरु गरेको हो। अमेरिकी सेनाले केही ड्रोनहरू खसालिदिएको छ। इजरायलको आयरन डोमले इरानको तर्फबाट प्रहार गरिएका मिसाइल ‘इन्टरसेप्ट’ गरेको छ।
टाइम्स अफ इजरायलका अनुसार इजरायलको मिलिट्री बेसमा धेरै क्षति पुगेको जनाइएको छ। यस दौरान एक बच्चा घाइते भएको जनाइएको छ। इजरायली सेनाले इरानमाथिको आकाशबाट केही ड्रोनहरू उडिरहेको देखेको जनाएकाे छ।
इजरायली च्यानल १२ का अनुसार केही ड्रोन सिरिया र जोर्डनको आकाशबाटै झारेको दावी इजरायली सेनाले गरेका छन्।
इरानले इजरायलमाथि आक्रमण गर्नुको पछाडि गत अप्रिल १ मा इजरायलले सिरियामा रहेको इरानी राजदूतावासमा एयरस्ट्राइक गरेको थियो। जसमा इरानका दुई शीर्ष आर्मी कमान्डर सहित १३ जना मारिएका थिए। त्यसपछि इरानले यसको बदलामा इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको थियो।
अबेर रातबाट इरानको आक्रमण सुरु भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुबै देशलाई संयमिता अपनाउन आग्रह गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो युद्धलाई यहीं रोक्नुपर्छ, यहाँभन्दा अघि बढे विश्वले अर्को युद्ध थेग्न सक्दैन। दुबै पक्षलाई संयमित रहन आग्रह गर्दछु।’
अहिले पनि इजरायलको आकाशमा फायरवक्स जारी रहेको जनाइएको छ। केही समय अघिमात्रै इरानले अहिलेभन्दा दोब्बर मिसाइल पठाउने चेतावनी दिएको छ। इरानले केही घन्टा अघिमात्रै अमेरिकाले सैन्य सहयोग प्रदान गर्नका लागि बनाएको इजरायलको एउटा सैन्य बेस ध्वस्त बनाएको जनाएको छ।
इजरायलले भने आफ्ना सहयोगी देशसँगको छलफलपछि कसरी अगाडि बढ्ने निर्णय गर्ने जनाएको छ। विश्वभर इरानले इजरायलमाथि आक्रमण सुरु गरेसँगै मध्यपूर्वमा अर्को त्रासदीपूर्ण युद्धको सुरुवात हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएका छन्।