
सिमकोट – उच्च हिमाली क्षेत्रमा उत्पादन हुने रैथाने बालीको उत्पादन झण्डै तेब्बर बढी खरिद गरिएको छ। सिमकोट गाउँपालिकाले गत वर्षभन्दा बढी खरिद गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई हस्तान्तरण गर्ने तयारी गरेको हो।
कृषि शाखाका प्रमुख नेत्रहादुर शाहीले हालसम्म चार सय ८० क्विन्टल रैथाने बालीको उत्पादन किसानसँग खरिद गरेर प्रशोधन गर्ने कार्य भएको बताए।
जबकि गत वर्ष चार प्रकारको चिनो, कागुनो, सिमी र फापर रैथाने बालीको उत्पादन गरी १३० क्विन्टल खरिद गरिएको थियो।
कृषि शाखाले उपलब्ध गराएको विवरणअनुसार प्रतिकेजी १३० रुपैयाँ तिरेर तीन सय क्विन्टल चिनो खरिद गरेर प्रशोधन गर्ने कार्य भइरहेको छ।
त्यसैगरी प्रतिकेजी दुई सय रुपैयाँ तिरेर ८० क्वीन्टल सिमी खरिद गरिएको छ भने प्रतिकेजी १३० रुपैयाँ तिरेर सत्तरी क्विन्टल कागुनो खरिद गरी प्रशोधन भइरहेको छ।
उवा प्रतिकेजी १३० रुपैयाँ तिरेर २० क्विन्टल र प्रतिकेजी एक सय रुपैयाँ तिरेर दश क्विन्टल कोदो पनि खरिद गरिएको छ।
यस वर्ष हालसम्म तीस क्विन्टल रैथाने बालीको उत्पादन शाखालाई हस्तान्तरण गरेर काठमाडौं पठाइसकिएको छ। बाँकी वैशाख १ गते शनिबारबाट हवाईमार्गबाट पठाउन सुरु गरिनेछ।
कर्णालीमा उत्पादन भएको रैथाने बालीको उत्पादन खरिदमा काठमाडौंका ग्राहकको आकर्षण बढ्दै गएको कारण खरिद कार्य वृद्धि गरिएकोे लिमिटेड हुम्ला शाखाका निमित्त प्रमुख नवीन आचार्यले बताए।
लिमिटेडले कर्णालीमा उत्पादन भएको रैथाने बाली खरिद गरेर काठमाडौँमा लिएर बिक्री गरेको अर्गानिक उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको हो।
हिमाली र उच्च पहाडी जिल्लामा उत्पादित वस्तु खरिद गरेर बिक्री गर्ने कम्पनीको योजनाअनुरूप खरिद गरेर उपत्यकामा लगेर बिक्री सुरु गरेको कम्पनीले जनाएको छ।
स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यअनुरूप वितरण गरिएको कम्पनीले जनाएको छ।