नेपालगञ्ज – नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभल (नियुफ) लुम्बिनी प्रदेशको नेपालगञ्जमा पहिलो पटक आयोजना गर्ने भएको छ।
महोत्सव वैशाख ३ गते बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सर्खेत रोडस्थित बाटिका होटलमा आयोजना गर्ने आयोजकले बताएका छन्।
महोत्सवमा ४ वटा लघु नेपाली चलचित्र र ३ वटा प्रोपेली चलचित्र प्रदर्शन हुँदै छ। यसका अवाला वैशाख ४ गते बिहान ११ देखि १ बजेसम्म मध्यपश्चिम बहुमुखी क्याम्पसमा चलचित्र निर्देशक तथा लेखक मोहन राईद्वारा फिल्म एप्रिसिएशनबारे मास्टरक्लास गरिने छ भने युरोपियन युनियनकी उपप्रमुख डा. जोएल इभोनेद्वारा नेपाल–युरोपियन युनियनको दौत्य सम्बन्ध र विकास सहकार्यबारे नेपालगञ्ज बहुमुखी क्याम्पसमा व्याख्यान गर्ने कार्यक्रम रहेको छ।
युरोपियन युनियन–नेपाल दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष भएकाले यस वर्षको चलचित्र महोत्सवको मूल नारा ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्षः सांस्कृतिक विविधताको उत्सव’ मूल नारा रहेको छ।
‘युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटीक सिर्जनशीलता काठमाडौँ, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नेपाली दर्शकहरूसँग आदानप्रदान गर्न पाउँदा अत्यन्त हर्षित छु,’ नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा. जोएल इभोनेट्को भनाइ थियो।
महोत्सवमा ९ वटा युरोपियन चलचित्रहरु र १२ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन्। महोत्सवको लागि लघु चलचित्र छनौट गर्न नेपाली युवा चलचित्र निर्देशकहरुका लागि लघु चलचित्र प्रतिस्पर्धा आयोजना गरिएको थियो, जसमा ५२ वटा लघुचलचित्र समावेश भएका थिए। ती ५२ मध्येवाट १२ वटा लघुचलचित्र महोत्सवका लागि छनौट गरिएको हो।
चुनिएका ९ वटा युरोपेली चलचित्रमध्ये नेपालगन्जमा मेरियन ब्लिचर निर्देशित मिस भिर्वोग (डेनमार्क), इम्यानुएल परभु निर्देशित मिकादो (रोमानिया, चेज रिपब्लिक), एन्टोनियो लुकीच निर्देशित लक्जेम्बर्ग लक्जेम्बर्ग (युक्रेन) प्रदर्शित गरिने छ भने १२ वटा लघु नेपाली चलचित्रमध्ये शान्ता नेपाली निर्देशित ध्येय ड्रिम्स, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, आकांक्षा कार्की निर्देशित सनाई र अनिल कुमी निर्देशित फेरा प्रदर्शित हुनेछन्।
नियुफको १३ संस्करणअन्तर्गत बागमती प्रदेशको काठमाडौँ र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा महोत्सव सफलतापूर्वक सम्पन्न भइसकेको छ भने नेपालगञ्जपछि कर्णाली प्रदेशको सुर्खेतमा पनि आयोजना गरिने छ।
नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले फिल्म क्रिटिक्स कम्पिटिसन (चलचित्र समालोचना प्रतियोगिता)समेत आयोजना गर्दै छ। यस प्रतियोगितामा उत्कृष्ट चलचित्र समीक्षा/समालोचनालाई फिल्म क्रिटिक्स अवार्ड प्रदान गरिनेछ। यस प्रतिस्पर्धाका विजेताहरु पनि यसै वर्षको शरदमा ब्रसेल्समा आयोजना हुने नेपाली चलचित्र महोत्सवमा सहभागी हुने छन्।

भर्खरै
लोकप्रिय






































































































































































































