काठमाडौँ – सत्तारुढ प्रमुख घटक एमालेले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको बताएको छ।
पार्टी मुख्यालय च्यासलमा आइतबार अपरान्ह बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकमा नेताहरुले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् । बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे।
उनले भने, ‘लोकतन्त्रलाई जनताको जीवनसँग जोडने, भ्रष्टाचार बिरुद्धको अभियानलाई अझ प्रभावकारी ढंगले लैजाने, अवरुद्ध विकासका कामलाई नयाँ गति दिने र सर्वोपरी रुपमा जनतामा एउटा विश्वास जगाउने, अहिलेको निराशालाई चिर्दै देश बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाढि बढाउने कुरामा हामी केन्द्रित छौं । बैठकमा हामीले त्यही विषयमा छलफल गरेको छौं । र सरकारका प्रारम्भिक गतिविधिहरु, अहिले सुरु गरेको स्पिरिडहरु सकारात्मक छन् । अझ बढी सरकारले जनतालाई विश्वास जगाउने गरी काममा अझ गति ल्याओस भन्ने अपेक्षा छ ।’
एमालेले आफू नेतृत्वको नयाँ सत्ता समिकरणले देशलाई सही बाटोमा ल्याएको र विकास, निर्माणको कामलाई तिब्रताका साथ अघि बढाउने जिकिर गर्दै आएको छ ।

भर्खरै
लोकप्रिय






































































































































































































