
इंग्लिस प्रिमियर लिगको उपाधि होडमा लिभरपुल औपचारिक रुपमा पछि परेको छ। आइतबार एन्फिल्डमा घरेलु दर्शकमाझ क्रिस्टल प्यालेसले लिभरपुललाई १-० ले स्तब्ध बनायो।
अप्रत्यासित हारसँगै प्रिमियर लिगमा प्रशिक्षक योर्गेन क्लोपलाई उपाधि सहित बिदाइ गर्ने लिभरपुलको चाहनामा गम्भिर धक्का लाग्यो। लिभरपुल घरेलु मैदानमा २९ औं खेलमा पराजित हुन पुगेको हो।
लिभरपुलको हारले उपाधि होडमा रहेको साविक च्याम्पियन म्यानचेस्टर सिटी र अर्को दाबेदार आर्सनललाई भने ठुलो राहत मिलेको छ।
खेलमा १४ औं मिनेटमै प्यालेसले अग्रता बनाएको थियो। ट्यारिक मिशेल्सको सानदार कटब्याकमा एबरेकी एजले आकर्षक गोल गर्दा गर्दा लिभरपुल खेलमा पछि परेको थियो। सुरुवातमा गरेको यो गोलनै लिभरपुललाई तीन अङ्क गुमाउन पर्याप्त बन्यो। रेलिगेशनको जोखिममा रहेको प्यालेसले महत्वपूर्ण तीन अङ्क सँगै १४औं स्थानमा उक्लिएको छ।
पहिलो हाफमै अग्रता दोब्बरको राम्रो अवसर प्यालेसले गुमायो। मैदानको विचभागबाट एजले दिएको पासमा भर्गिल भान डाइक स्लिप भएपछि जीन फिलिप मटेटाले गोलको सुन्दर मौका पाएका थिए। तर उक्त मौकामा उनको प्रहारलाई गोललाईनबाट एन्डी रोबर्टसनले आकर्षक बचाउ गरे।
लिभरपुलले पनि पहिलो र दोस्रो हाफमा निरन्तर आक्रमण गर्यो। उसको एक प्रहार क्रसबारमा लाग्दा अन्य केही उत्कृष्ट प्रहारलाई गोलरक्षकले क्लियर गरे। अन्तिम समय सम्म गोलका प्रयास गरेको लिभरपुल अन्तत घरेलु दर्शकमाझ हार भोग्न बाध्य भयो।