
काठमाडौं- निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको बताएका छन् ।
मबार काठमाडौंमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तर्रक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले राजनीतिक दलहरूबाट महिलाहरूको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताएका छन् ।
आफूहरूले राष्ट्रपति र उपराष्ट्रपतिमा एक जना महिला हुनुपर्ने विषयमा बोलेको भएपनि राजनीतिक दलहरूले त्यसलाई अर्कै तरिकाले लिएर आयोगमाथि नै दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको उनको जिकिर छ । ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा म धेरै बोलिनँ । मजाले बौल्यौं हामीले । राम्ररी नै बोल्यौं । उल्टै आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न धेरै ठाउँबाट गरियो । म अहिले त्यहाँ प्रवेश गर्दिन । संविधान र कानूनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भयो । नतिजाले त्यही देखाउँछ,’ उनले भने ।
उनले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको र सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राख्न चिठी लेखेको तीन वर्ष बितेपनि नाम दिन नसकेको बताए । उनले महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिदो किसिमले महिलाका हिंसाका कामहरु भइरहेको जिकिर गरे । उनले कानूनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति आएको बताए ।
‘दुःखसाथ मैले यहाँ भन्नुपर्छ । हामीले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गर्यौं सँगै बसेर । यसमा म खुसी पनि व्यक्त गर्दछु । त्यो नीति तयार गर्नको निम्ति अन्तर पार्टी महिला सञ्जालले रात दिन खटेको म सम्झिरहेको छु । खट्यौं बनायौं । त्यहाँ धेरै कुरा नै लेखेको थिएन । एउटा सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्नेगरी लैङ्गिक सम्पर्क व्यक्ति राखौँ भनेर चिठी लेखेको तीन वर्ष भयो । जवाफ नै आउँदैन, धेरै जसोको’उनले भने,’एउटा लैङ्गिक सम्पर्क व्यक्ति पनि तोक्न नसक्ने दलहरुबाट निर्वाचन र समग्रतामा महिलाहरुको हित उन्नति, कल्याण, उपलब्धि हुन्छ भनेर अपेक्षा गर्नुपर्ने पीडादायक अवस्थामा हामी छौं ।’