
झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही सहकारी मान्छे ठग्नका लागि स्थापना भएका बताएका छन्।
नेकपा एमाले झापा जिल्ला कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले केही सहकारीले राम्रो काम गरे पनि केही मान्छे ठग्नका लागि स्थापना भएका बताएका हुन्।
गैरसहकारी व्यक्तिहरु प्रवेश गरेर पैसा अपचलन गरेर सहकारीको बद्नाम गर्ने काम भइरहेको ओलीले बताए। उनले भने, ‘केही सहकारीहरू केही मान्छेलाई ठगी खाने ठाउँ बनेको छ। त्यस्ता व्यक्तिहरू सहकारीमा पसेर सहकारीको बदनाम गरिरहेका छन्।’
उनले सहकारीमा विकास, आधुनिकता र उत्पादन वृद्धिका लागि प्रविधिको प्रयोग ल्याउनुपर्ने बताए। आफ्ना दलका नेता तथा कार्यकर्तालाई त्यसको अगुवाइ गर्न उनले आग्रह गरे।
झापाको जिल्ला कमिटी बैठकलाई सम्बोधन गरेर ओली इलाम लागेका छन्। बुधबार इलामको मंगलबारेमा उनले चुनावी सभालाई सम्बोधन गर्नेछन्।
इलाम २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा एमालेबाट संविधान सभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ चुनावी मैदानमा होमिएका छन्।