
झापा – वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ प्रदान गरिएको छ।
रूद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाद्वारा स्थापित उक्त पुरस्कार मंगलबार एक समारोहकाबीच कोशी प्रदेशप्रमुख परशुराम खापुङले डा. रुइतलाई हस्तान्तरण गरे। पुरस्कारको राशी पाँच लाख रुपैयाँ रहेको छ।
त्यसैगरी यस वर्षको ‘देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार’ झापाका बुद्धशान्ति गाउँपालिका–१ डुम्रीबोटका १७ वर्षीय सबिन बाँस्कोटालाई प्रदान गरिएको छ। उनलाई एक लाख एक हजार एक सय ११ पुरस्कार राशी तथा सम्मानपत्रसहित प्रदेश प्रमुख खापुङले प्रदान गरे।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले मानव हित, सकारात्मक समाजिक विकासमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको बताए। आँखाको उपचारका क्षेत्रमा उल्लेख्य योगदान गरेकाले डा. रुइतलाई सम्मान गरिएको उनले बताए।