
काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा जुनियर तर्फ सानदार प्रदर्शन भएका छन्। अन्तिम दिन बिहीबार जुनियर तर्फ तीन नयाँ राष्ट्रिय कीर्तिमान कायम भए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपलजम्पमा १४.१९ मिटर जम्प गर्दै ३६ वर्षअघिको कीर्तिमान भंग गरे। उनले जुनियर तर्फ २०४४ सालमा धनवीर चौधरीले बनाएको १४.०६ मिटरको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान आफ्नो नाममा बनाउन सफल भए।
प्रतियोयगितास्थलमै रहेका धनवीरले आशिषलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार सहित बधाइ दिएका थिए। बागमती प्रदेशका विशाल गुरुङ दोस्रो तथा लुम्बिनी प्रदेशका विजय थारु तेस्रो भए। सो स्पर्धाको छात्रामा लुम्बिनीकी अनिशा थारुले १०.५७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाइन। त्यस्तै सुदूरपश्चिमकी रेनुका ऐर दोस्रो तथा बागमतीकी अपेक्षा महतो तेस्रो भइन।
छात्रा ३ हजार मिटर दौडमा सुदूरपश्चिमकी देवकीकुमारी धामीले जुनियरमा राष्ट्रिय कीर्तिमानसहित पहिलो स्थान हासिल गरीन्। उनले निर्धारित दूरी १० मिनेट ५२.८२ सेकेन्डमा पुरा गरेकी थिइन। उनले २०७५ सालमा राममाया बुढाले बनाएको १० मिनेट ५७.२ सेकेन्डको कीर्तिमान तोड्न सफल भइन्। लुम्बिनीकी गुञ्जा यादव दोस्रो बन्दा कर्णाली प्रदेशकी कल्पना बुढा तेस्रो बनिन्। उक्त स्पर्धाको छात्रमा कर्णाली प्रदेशका अजय विकले स्वर्ण हात पारे। उनले दूरी पूरा गर्न ९ मिनेट २४.२ सेकेन्ड समय लगाए। बागमतीका विश्वराम कुँवरले रजत तथा कर्णालीका अक्कल बडुवालले कांस्य हात पारे।
छात्रा ४ गुणा ४ सय मिटर रिलेमा भावना फर्साल, सरिता खड्का, हिमाली शाही र कृष्णा राना सम्मिलित कर्णाली टोलीले कीर्तिमानी स्वर्ण जिते। उक्त टोलीले निर्धारित दूरी ४ मिनेट १७.२ सेकेन्डमा पार गरे। यसअघि उक्त कीर्तिमान लुम्बिनीका अरुणा रिजाल, पूर्णिमा खड्का, पूजा चौधरी र करुणा रिजालको नाममा ४ मिनेट २३.८ सेकेन्डको कीर्तिमान थियो।
तीनदिने एथलेटिक्स प्रतियोगितामा योसहित जम्मा ५ जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन्। पहिलो दिन गण्डकीका गणेश विकले छात्र हाइजम्पमा १.८१ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए। दोस्रो दिन कर्णालीकी सरिता खड्काले छात्रा ८ सय मिटर दौड २ मिनेट २८.५ सेकेन्डमा पूरा गर्दै कीर्तिमान रचेकी थिइन्। बिहीबारै भएको सटपुटको छात्रमा कर्णालीका बालकुमार नकाल पहिलो भए। उनले १२.९५ मिटर टाढा फाले । सुदूरपश्चिमका गणेश विक दोस्रो तथा लुम्बिनीका सुराज थापा तेस्रो स्थानमा रहे। सो स्पर्धाको छात्रामा सुदूरपश्चिमकी कृष्णा बम १०.५७ मिटर टाढा फाल्दै शीर्ष स्थानमा रहिन्। सुदूरपश्चिमकै पूजा साउदले दोस्रो तथा बागमतीकी एलिना विक तेस्रो बने।
छात्रको २ सय मिटर दौडमा मधेशका आदेशकुमार यादव पहिलो भए । उनले २२.८ सेकेन्ड समय खर्चे । सुदूरपश्चिमका चन्द्र बोहरा दोश्रो तथा बागमतीका सन्तबहादुर दराई तेश्रो भए । उक्त स्पर्धाको छात्रामा कोशी प्रदेशकी आरती चौधरीले निर्धारित दूरी २८.२ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन्। सुदूरपश्चिमकी रितु जोशीले रजत तथा गण्डकीकी एन्जल अधिकारीले कांस्य हात पारे।