इलाम २ उपनिर्वाचनः पुराना दलका मतदाता घट्दै, नयाँका बढ्दै

इलाम २ उपनिर्वाचनः पुराना दलका मतदाता घट्दै, नयाँका बढ्दै
+
-

मंगलबार इलामको चुलाचुलीमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई भोट माग्न पार्टीका नेता शेखर कोइराला उपस्थित थिए। त्यहाँ नेपाली कांग्रेसले आमसभा नै आयोजना गरेर उम्मेदवार खड्काका लागि भोट मागिदिन भन्दै पार्टीका उच्च तहका नेताहरूलाई बोलाएका थिए।

नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङका लागि भोट माग्न झापादेखिका पार्टीका नेता तथा कार्यकर्ता इलामको माइ नगरपालिकामा उपस्थित थिए। माइ नगरपालिकाका विभिन्न स्थानमा एमालेले घरदैलो तथा स-साना कोण सभाको आयोजना गरेको थियो। बुधबार चुलाचुलीमा एमालेले बृहत आमसभाको आयोजना गरेको छ।

माइ नगरपालिकाकै कपुरचौरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजाे चुनावी आमसभाको आयोजना गरेको थियो। सोही आमसभामा पार्टीका उम्मेदवार मिलन लिम्बूले आफ्ना प्रतिवद्धताहरू राख्दै प्रतिनिधि सभा सदस्यमा आफू निर्वाचित गराइदिन मतदातासँग आग्रह गरेका थिए।

केही स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमका प्रचार सामाग्री भेटिएका थिए। उनका समर्थक पनि उनका पक्षमा मत दिन भन्दै मतदातासँग आग्रह गरिरहेका थिए। कपुरचौरबाट अलि उत्तर एक घरमा तीनवटा पार्टीका झण्डा देखेपछि राखेको जिज्ञासामा एक मतदाता महिलाले भनिन्, ‘जो-जो आउँछन् राख्दै जान्छन्। केही भन्न मिलेन। मत कसलाई दिने भन्ने अधिकार त आफूसँग छँदैछ नि।’

नेकपा एमालेले आफ्नो गढ ठानेको इलाम २ मा अहिले पुराना पार्टीका मतदाता घट्दै गएको धेरै मतदाताले बताएका छन्। लामो समय पुराना पार्टीमा काम गरेका धेरै मतदाताले मत परिवर्तन गर्ने बताउँदै आएका छन्। एक जना मतदाताले लामो समय एउटा पुरानो पार्टीमा रहेको र अब मत परिवर्तन गर्ने बताइन्।

उनले भने, ‘अब यसैमा दिन्छु भनेर त भन्दिनँ, तर मत चाहिं परिवर्तन हुन्छ।’

अर्क मतदाताले आफ्नो क्षेत्रमा हुनसक्ने भौतिक पूर्वाधार विकासका कामसमेत नभएकाले जनता भड्किएको बताए। उनले भने, ‘हाम्रो ठाउँमा विकास भनेको यही माइ खोलाको पुल हो। अरू विकास खोइ? अनि तिनै पार्टीलाई फेरि भोट दिनु?’ कपुरचौरमा भेला भएका अधिकांशको यस्तै गुनासा थिए।

पहिचानवादी उम्मेदवारको रूपमा चर्चा पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको पक्षमा पनि निकै मतदाता रहेका स्थानीयबासी बताउँछन्। उनले उम्मेदवारहरूमध्येकै शिक्षित र राम्रा उम्मेदवारका रूपमा चर्चा पाएका स्थानीयबासीको भनाइ छ ।

पहिचानवादीहरू उनको उम्मेदवारीलाई प्रदेशमा पहिचानको आन्दोलनसंग जोडेका छन्। थेगिमका अनुसार पहिचनान र भूगोलको विकासका लागि उनलाई नागरिकले भोट दिनेछन्। इलामको तल्लो भेगमा पहिचानवादीहरू निकै ठूलो बाहुल्यता रहेको पाइन्छ।

एमालेका नेता तथा कार्यकर्ता एमालेको विरासत कायम रहनेमा विश्वस्त छन्। संविधानसभा अध्यक्ष सुवास नेम्बाङले जितेको क्षेत्रमा उनकै छोरा सुहाङले जित हासिल गर्नेमा ढुक्क छन्। नेपाली कांग्रेसले आफ्ना विपक्षमा प्रायः आदिवासी समुदायबाट उम्मेदवारहरू रहेकाले उक्त समुदायको मत विभाजनको फाइदा आफ्नो उम्मेदवार डम्बर खड्कालाई हुने विश्वास लिएको छ।

इलामका मतदाताका अनुसार नयाँ आउने उम्मेदवार तथा पार्टीहरूले आफ्नो प्रभाव जमाउन थालेकाले पुराना पार्टीलाई विरासत तथा प्रभाव जोगाउन निकै कठिन रहेको छ।

उनीहरू भन्छन्, ‘पुराना पार्टीका मतदाता थपिएका छैनन्, घट्दैछन्। नयाँ पार्टीले मतदाता तथा प्रभाव बढाउँदै लगेका छन्। यसपाली के हुन्छ भन्नै सकिन्न।’

रास्वपाका उम्मेदवार मिलन लिम्बूले इलाम २ मा अब पनि विकास निर्माणका कामले गति लिएन गाउँ नै मानवविहीन हुने अवस्थामा पुगेको बताए।

उनले भने, ‘गाउँका मान्छे सहरतिर बसाइँ सरेर जाँदैछन्। यस्तो अवस्था रहे के हुन्छ निकट भविष्यमा? त्यसैले म केही गर्नका लागि आफ्नो पेशा छोडेर तपाईंहरूसँग आएको हुँ।’

पुराना पार्टीका सदस्य वाक्कदिक्क भएकाले आफ्नो पक्षमा मत खस्ने उनको विश्वास छ। तर अधिकांश मतदाता नखुलेकाले नतिजाको पूर्वानुमान लगाउन निकै कठिन रहेको धेरैले बताउने गरेका छन्।

यसैअघिका चुनावमा पार्टी वा पार्टीका उम्मेदवारले थोरै मत पाए पनि राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले पनि आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?