
काठमाडौं- इलाम र बझाङमा शनिबार उपनिर्वाचन हुँदैछ। आज बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।
इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो।।
नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङको निधनपछि इलाम- २ मा उपनिर्वाचन हुन लागेको हो।
यसैगरी सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि बझाङ १ (क)मा उपनिर्वाचन हुन लागेकाे हाे।
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ, कांग्रेसका डम्बरहादुर खड्का, रास्वपाका मिलन योङहाङ लिम्बु, राप्रपाका लक्ष्मी गुरुङ र जनमतका प्रेमकुमार थाम्सुहाङ, एकीकृत समाजवादीका जीबहादुर राई, नेमकिपाका श्यामबहादुर दर्जी, मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बु, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर र राष्ट्रिय मुक्ति आन्दोलनका जयवन्त राना मगर उम्मेदवार छन्।
बझाङ १ (क)मा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।
यस्तै, राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा) का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।
निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा मतदाताको नाम हुनुपर्नेछ।
सवारी व्यवस्थापन
यसैबीच, आयोगले बिरामी बोकेको एम्बुलेन्स, खानेपानी र दूध बोक्ने गाडी, दमकल, परिचयपत्र वाहक सञ्चारकर्मी र स्वास्थ्यकर्मी, दुरसञ्चार तथा केबल सेवा, शव वाहनलाई निर्वाध रूपमा सञ्चालनको अनुमति दिइएको छ ।
आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ता, फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, तरकारी, फलफूल तथा विद्युत् सेवा, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घीय निकाय तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थामा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने नीलो नम्बर प्लेट भएका सवारी साधन, विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएका सवारी साधन, सुरक्षाकर्मी, आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदानमा खटिएका कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधनलाई सञ्चालनको अनुमति दिइएको छ।