
इलाम- इलाम क्षेत्र नं २ को उपनिर्वाचन अन्तर्गत प्रतिनिधिसभा सदस्य छान्न भएको मतदानको मतगणना केहीबेर अघि सुरु भएको छ।
सर्वदलीय बैठकपश्चात् मतगणना इलाम ७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना सुरु भएको हो। आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो।
शनिबार मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। मतदानपश्चात रातभर मतपेटिका संकलन गर्न समय लागेको थियो।
मतपेटिका इलाम ७ मा रहेको गौतमबुद्ध समभागृहमा संकलन गरिएको हो।
सभागृहका दुई स्थानमा मतगणना भइरहेको छ। निर्वाचन आयोगका अनुसार मतगणना सुरु भएको १२ घण्टाभित्र अन्तिम नतिजा प्रकाशित गरिनेछ।
१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार इलाम- २ बाट प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन्।
कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको हो। जहाँ ७४५ जना कर्मचारी खटिएका थिए।