
इलाम- प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार सुहाङ नेम्वाङ अघि लागेका छन्। ३ वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन्। सुहाङ ३४६ मतले अघि लागेका छन्।
वडा नम्बर ४ मा १७१८ मत झरेको थियो। त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ। यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन्। पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बुले ७१ मत प्राप्त गरेका छन्। हालसम्म ५ हजार ८६८ मत गणना भएको छ। जसमध्ये पहिलो दल एमालेले २ हजार ५४२ , दोस्रो दल कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ।
सबैतिर यी अग्रस्थानमा रहेका चार उम्मेदवारले ल्याएको मतपरिणामको चर्चा भइरहेका बेला बाँकी केही उम्मेदवारले केही मत प्राप्त गरेका छन् ।
राप्रपाका लक्ष्मी गुरुङले अहिलेसम्म ९ मत पाएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका मणिबहादुर लिम्बुले १९ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ८ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले ६ मत पाएका छन् ।
चुनावमा प्रतिस्पर्धा गरेका नेमकिपाका श्यामकुमार दर्जीले १ मत मात्र पाएका छन् । राप्रपा नेपालका गणेशबहादुर चौहानले २ मत पाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले १७ मत पाएका छन् । नेशनल रिपब्लिक नेपालका धनराज रानामगरले १ मत पाएका छन् ।
फाकफोकथुम गाउँपालिकाका १, २ र ३ नम्बर वडामा झरेका मत गणना गरिसक्दा राष्ट्रिय मुक्ति आन्दोलनका जयन्तविक्रम शाहले १ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार अर्जुनबहादुर शाहीले ४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमले एक मत पनि पाएका छैनन् भने स्वतन्त्र रुपमा चुनावमा उठेका दीपेश बोहोराले ९ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार मनोज निरौलाको मत अहिलेसम्म शून्य छ भने अन्य दुई स्वतन्त्र उम्मेदवारहरू योगेन्द्र गुरुङ र राज बश्यालको क्रमशः १ र २ मत रहेको छ।