
झापा- इलामको रोङ गाउँपालिकामा मारुती भ्यान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुने व्यक्ति भ्यान चालक भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
भ्यान चालक इलाम देउमाई नगरपालिका ६ बस्ने वर्ष अन्दाजी २४-२५ का दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ।
दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। घटनास्थलमा खोजतलास गर्दा इलाम नगरपालिका ५ बस्ने वर्ष अन्दाजी २५–२६ का विश्वास राई घाइते अवस्थामा फेला परेका हुन्।
शरीरको विभिन्न भागमा चोट, तत्काल बोल्न नसक्ने उनलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएको छ।
दुर्घटनाका बारेमा गाडीधनी इलाम नगरपालिका ५ बिब्ल्याटे बस्ने याम श्रेष्ठमार्फत मृतक र घाइतेका आफन्तहरुलाई जानकारी गराइएको र गाडी घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए।
इलामको रोङ गाउँपालिका ४ बाघखोरस्थित मेची राजमार्गमा आज बिहान अन्दाजी ५ बजेको समयमा झापाबाट इलामतर्फ जाँदै गरेको मे १ ज ३२६३ नं. को मारुती भ्यान अनियन्त्रित भइ बाटोबाट भीरमा खसेको थियो।