
झापा- झापाको बिर्तामोडमा लगातार हात्तीपाइलेका रोगी भेटिन थालेका छन्।
मंगलबार तीन जना हात्तीपाइले रोगी भेटिएको भोलिपल्ट बुधबार थप एक जना हात्तीपाइलेका रोगी फेला परेका हुन्।
बुधबार बिर्तामोड- ६ मा थप एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले बताए। त्यसको अघिल्लो दिन मंगलबार बिर्तामोडमा हात्तीपाइलेका तीन जना नयाँ रोगी भेटिएका थिए।
बिर्तामोड नगरपालिकामा- ५ मा मंगलबार दुई पुरुष र एक महिलामा हात्तीपाइलेको लक्षण भेटिएको थियो। यसअघि गत वर्ष बिर्तामोडको वडा नं १ मा एकजनामा हात्तीपाइलेको लक्षण देखिएको थियो। योसँगै बिर्तामोडमा हात्तीपाइले रोगीको संख्या पाँच पुगेको छ।
बिर्तामोडमा हात्तीपाइले र कुष्ठ रोगीको संख्या धेरै रहेको छ। त्यसकारण हात्तीपाइले रोगविरुद्धको अभियानमार्फत् सबै नगरवासीहरूलाई अनिवार्य औषधि सेवन गर्न बिर्तामोड नगरपालिकाले आह्वान गरेको छ।