देशसञ्चार चौतारीको यसपटकको अंकमा साहित्यकार तथा अनुवादक धिरेन्द्र प्रेमर्षिले साहित्य, संस्कृति र भाषाका थुप्रै पक्षहरुबारे देशसञ्चारका सहकर्मीहरुसँग अन्तर्क्रिया गरेका छन्।
नेपालको सांस्कृतिक विविधता राज्यको मूलधारमा आउन नसकेको प्रेमर्षिले देशसञ्चार चौतारीका क्रममा बताए। नेपालका सबै संस्कृति र विविधतालाई मूलधारमा समेट्ने इमान्दार प्रयास नभएको प्रेमर्षिले बताए।
आफ्नो सांस्कृतिक परिचय मधेसी नभएर मैथिल भएको उनले बताए। ‘मधेसी एउटा राजनीतिक शब्द हो, सांस्कृतिक शब्द होइन,’ उनले भने।
देशसञ्चार चौतारीका क्रममा सांस्कृतिक पहिरन धोती लगाएर आएका प्रेमर्षिले आफूले सधैँ धोती नलगाए पनि अनुकूलतामा धोती लगाउने बताए। ‘धोतीलाई राजनीतिकरण गर्नुअघि मैले सांस्कृतिक समारोहमा धोती नै लगाउँथे,’ उनले भने।
धोती. दौरा-सुरुवाल र टोपी वातावरण सुहाउँदो पहिरन र इतिहासको धरोहर भएको उनले बताए।
मैथिली भाषा अहिले पनि जनजीवनमा प्रयोगमा आउने गरेको उनले बताए। ‘मैथिली भाषा माटोको भाषा हो,’ उनले भने।
पत्रकारिता र अभिनयमा समेत सक्रिय देखिएका प्रेमर्षिलाई कुनै समय हिरो बन्न पनि खुब रहर लाग्थ्यो। मिथिला क्षेत्रका विशेषता र प्रवृत्ति रेडियो र अन्य पत्रकारिताका माध्यममा पनि ल्याएका प्रेमर्षि एकप्रकारले मिथिलाका दूत भन्दा फरक पर्दैन।
राजनीतिले कला र संस्कृतिलाई नगन्ने उनले बताए। ‘अप्ठ्यारो बेला राजनीतिले कलाको साथ खोज्छ, तर सजिलो भएको बेला उसले भाषा र संस्कृतिलाई गन्दैन,’ उनले भने।
अन्तर्क्रियाका क्रममा विद्यापतिको बारेमा उनले चर्चा गरे। विद्यापतिका ४४ वटा कथा नेपालीमा समेत अनुवाद गरेका प्रेमर्षिले विद्यापतिलाई नयाँ पुस्तामाझ फैल्याउन आवश्यक रहेको पनि बताए।
धेरैजसो सम्पादन र अनुवादमा व्यस्त हुँदा आफ्नो ठोस काम भने कम गर्न पाएको प्रेमर्षि बताउँछन्।
संस्कृतिका कतिपय प्रसंग र शैली विशिष्टिकृत हुने उनले बताए। कार्यक्रमका क्रममा उनले देउडा पनि गाए। मैथिली भाका पनि खोले। नेपाली भाषामा पनि गीत सुनाए।
रामसँग जनकपुरको गुनासो भएको उनले बताए। ‘उनले सीतालाई राम्रो व्यवहार गरेनन् भने जनकपुरबासीको गुनासो छ,’ उनले भने।
पूरा भिडियो: