
यो एउटा सिनेमा प्रेमीको मोनोलग हो! मेरो होइन। म अचेल खासै सिनेमा हेर्दिनँ। न मसँग जाँगर छ न त फुर्सद नै। न त छ हलमा गएर टिकट, मकै र कोक किन्ने पैसा। त्यसमाथि हलमा फिल्म हेर्न जाने केटाहरू लभमा परेपछि कोसँग फिल्म हेर्न जानू? मभित्रको सिनेमाप्रेमी निदाएको धेरै भो! र निदाउन मलाई खुब मन पर्छ। मेरा कुरा उही त हुन्। अब सुनम् वर्तमान सिनेमाप्रेमीको मनोलग!
म वर्तमान सिनेप्रेमी पहिले-पहिले सत्य लेख्न मन लाग्दा कथा लेखें। आज झुट र अर्धसत्य लेख्न मन छ त्यसैले यो निबन्ध लेख्दैछु। झुटहरूमा आफूलाई छोप्दै छु। निबन्धमा प्रयोग भएका शब्द कि सिनेमाबाट लिइएका हुन् कि जीवनबाट र त्यस बीचमा कति खेर फिक्सन घुस्छ त्यो पत्ता लगाउने काम हजुरको है त! हजुर सब जान्ने, बुझ्ने, ट्यालेन्टेड आइ मिन मल्टीट्यालेन्टेड हुनुहुन्छ।
फाहाद फासिलले भनेका छन् ‘देर इज मोर टु लाइफ देन वाचिङ सिनेमा!’ वानबी सिनेफाइलहरू, चार वर्षअघि कुम्बलङ्गी नाइट्स हेरेकाहरू वा पुष्पा अथवा विक्रम हेरेकाहरूले चिनेका होलान् उनलाई, त्यही फाहाद जसका आँखा देख्दै डुबुमडुबुम जस्ता छन्। त्यही फाहाद जसले अमेरिकाको कुनै डिभिडी स्टोरमा इरफानको मकबुल हेरेर एक्टर बन्ने सपना देखेका थिए। उनलाई एक्टर बन्न गाह्रो भएन। उनी पनि नेपो किड न थिए।
अँ भनाइमा जाम् न अब, फाहादले भनेको सही हो। मान्छेले सिनेमा हेर्नुहुन्न। जीवनमा सिनेमाभन्दा धेरै कुरा छन्। जीवनका आफ्नै अनेकन् रंग छन् रूप छन्। जीवनको अर्थ जिउने रैछ, रमाउने रैछ। जीवन कसैलाई प्रमाणित गर्नलाई होइन रहेछ। अर्थहीन दौडाइ रहेनछ। जीवन त चौतारी रहेछ शान्तिको सास फेर्ने। थकाइ मार्ने। फोक्सोभरि जीवनदायी हावा भर्ने। जीवन यस्तो होस् जहाँ बाँचेको जस्तो होस्।
हाँसेको जस्तो होस्। केवल रहेको र हुनका लागि भएको जस्तो नहोस्। जीवनमा सौन्दर्य होस्, प्रेम होस्, उत्साह, उमंग होस्, सुनाउनलाई देखेका भोगेका कहानी होस्। एउटा जिन्दगी होस्, जसको कथा सिनेमा बन्ने लायक होस् न कि एउटा जिन्दगी सिनेमा हेरेर सकियोस्!
न जिन्दगीमा राम्रोसँग प्रेम गर्न सकियो। प्रेम त वीरले जारालाई गरेजस्तै गर्नु नि! बाइस वर्षसम्म कोही पर्खिन सक्छ? म त सक्दिनँ यदि म प्रेममा परें भने नि मेरो स्टोरीमा बाइस मिनेटभित्र उनको रिप्लाइ नआउँदा समेत मलाई छटपटी हुन्छ होला!
मलाई सिनेमाले धेरै सिकाएको छ। कम्तीमा महुसुस गर्न सिकाएको छ। खुसीमा संसार बिर्सेर हाँस्न सिकाएको छ, दुःखमा रुन सिकाएको छ। प्रेम देखाएको छ। प्रेम सिकाएको छ म भन्दिनँ। प्रेम त एउटा कला हो, सिक्दै जाने कला, अनुभवले त्यो सिकाइ निखार्दै जान्छ। मान्छे कम्तीमा हिजोभन्दा आज अलग हुन्छ। बढी प्रेमिल हुन्छ। जिम्मेवार हुन्छ। नेपाली समाज प्रो लभ छैन। प्रो बिहे त्यो आवश्यकताभन्दा बढी छ। संसार प्रेमले सुन्दर हुन्छ। विवाहले होइन। कसैले कसैलाई प्रेम गर्नु एउटा जिम्मेवारी हो। अरूलाई बुझ्न कम्तीमा प्रयत्न, यत्न, चेष्ठा, कोसिस, ट्राइ गर्नु। सबै छटपट यो दुनियाँमा। शान्तिसँग, उदारतासँग, स्वछन्द हृदयले कसैले कुरा सुनिदिनु पनि त प्रेमभन्दा कम्ता हो र?
प्रेमका पनि त आफ्नै रंग छन्। जीवनको प्रिज्ममा थुप्रिएर बसेको। पर्खाइमा कसैको मायालु नजरको र पोखिन्छ यो सप्तरंगमा। उमंगमा र कहिले कसो महोभंगमा दिल से मा गुलजारले प्रेमका सप्त रूप पोखेजस्तै। पीडा र वियोग देखाएजस्तै।
एउटा फिल्ममा सुनेको थिएँ- प्रेम त्यो हो जहाँ कम्तीमा एउटा मान्छेसँग खुल्न सकियोस्! आफ्ना सम्पूर्ण कमजोरी अनि गोप्यताहरूसहित। उसले ती सबै देखोस् जुन समाज देख्न चाहन्न। देखोस् सौन्दर्य र देखोस् कुरूता पनि। तैपनि उत्तिकै प्रेम गरोस् सम्पूर्णतामा!
सिनेमामा कि त उदासी छैन कि त मेरोभन्दा बढी छ। र ती दुवैले मलाई उदास बनाउँदैनन्। जिन्दगीमा हुनुपर्ने कुरा कम हुन्छन्। औचित्यहीन कुरा भइराख्छन्। जीवनको ब्युरोक्रेसी पट्यारलाग्दो छ र यसमा पाँच बजेपछि घर भाग्न पनि पाइँदैन। झेल्न पर्दासम्म झेलिरहनु पर्छ। मलाई दुई घण्टाको बोरिङ फिल्म हेर्दा त झ्याउ लाग्छ। यो केही खास नहुने। हरेक दिन एउटै दिन बाँच्ने, एउटै गाली खाने, एउटै काम गर्ने, त्यही रुखो बोली, त्यही किचकिच। यी सबबाट म दिक्दार छु। मन त मलाई पनि लाग्छ। यो मोह माया त्याग्न, यो केही नहुने जिन्दगीबाट भाग्न। यी लाचार मान्छेहरूबाट, आफ्नै कायरताबाट, बिछोडबाट, रिजेक्सनहरूबाट, उदास आफूबाट! यी सबैको अस्तित्व नहुने ठाउँमा जान मन लाग्छ। कुनै उन्मुक्त सुफीजस्तै। मझ्नुजस्तै। त्यो पहाडभन्दा पारि। सत्य र असत्यभन्दा धेरै टाढा! के तिमी भेट्ने छौ मलाई त्यहाँ?
कुरा मिस्टिक रोम्यान्टिक सुनिएला तर म आफूलाई चिन्दछु। थाहा छ त्यति हिम्मत ममा छैन। भएको भए यति अन इभेन्टफूल जीवन हुने थिएन। नियमहरूमा बेरिने बानी लागिसक्यो। नियमहरूका डोरीले खिचिएको गोरुजस्तै।
ज्यादै क्यारेक्टर आर्क बद्लियो भने म बनुँला डन। कोरसिकामा जहाँ मलाई कसैले चिन्दैनन्। र त्यहाँ म जे पनि हुन सक्छु। जे पनि गर्न सक्छु। जंगलमा भाग्न सक्छु। नदीबाट जनावर जस्तै पानी खान सक्छु। र नाँच्न सक्छु रहमानको संगीतमा।
यति धेरै नभाग कि खुसी पनि पछाडि नै छाडियोस्। आखिर पुग्ने कहाँ हो? आखिर जित्ने कसलाई नै पाे हो र?
जन्मिन पाछैन समाज बच्चालाई स्कुल पठाउँछ, घर बिर्साउँछ, किताब थमाउँछ, बचपन भुलाउँछ। अलिक ठूलो भयो कि कलेज धपाउँछ। जवान हुन पाछैन जागिरे बनाउँछ। दास हुन सिकाउँछ। जागिर हुनु प्रतिष्ठा हुनु हो। कतै पढेको थिएँ- यो समाजमा प्रतिष्ठा हुनलाई समेत दास हुनैपर्छ। लाग्छ समाजमा मान्छेले आफूले दुःख पाएर होला अरू खुसी भएको देख्न सहन्न। हरेक दिन एकै जागिर र एउटै दिन बाँचेको पिता किन चाहन्छन् छोरा पनि त्यस्तै जागिरे भएर जिन्दगी बिताओस्? आफ्नो स्वयमको अस्तित्व र खुसीसमेत बिर्सिएकी आमा किन चाहन्छिन् उनकी छोरीले पनि बिहे गरोस्। किन मान्छेले मान्छेलाई नियमभित्र कैद गर्न चाहन्छ? समाज सायद यस्तो पिञ्जडा हो जहाँ उड्न पनि पखेटा काटेर पठाइन्छ। किन कथित नियम बाहिरको उडान मान्य छैन समाजलाई?
किन हामी पैसाकै पछाडि दुर्गुछाैं? कसले रोकेको छ हामीलाई एकछिन सुस्ताउन? आफ्नै मान्छेसँग बस्न, कुरा गर्न, समय बिताउन। ती मान्छे जो हामीलाई माया गर्छन्। ती मान्छे जो हाम्रा आफ्नै हुन्। किन हामी ती जो कहिल्यै खुसी हुँदैनन्, ती मान्छे जो हाम्रा होइनन् तिनलाई खुसी पार्न भागी हिँड्छौं। एउटा अन्त्यहीन दौड जहाँ केवल थकान छ, गन्तव्य छैन! छ यात्राको हतास मात्र तर मिठास फिटिक्कै छैन।
खस्यो पत्थर भीरबाट
फेरि बोक्न चिताउँछौं
जीवन जिउनलाई हो
हामी सोंचेर बिताउँछौं
किन समाज दुनियाँ बिर्सेर पढ् भन्छ? किन समाज दुनियाँ बिर्सेर काम गर् भन्छ? हरदिन धनी भइरहने पूँजीपतिहरूलाई धनी बनाउन एउटा मान्छेले दुनियाँ किन बिर्सिनुपऱ्यो? दुनियाँ रोकिएर हेर्ने हो भने सुन्दर नै छ। कमसेक प्रेम गर्न लायक छ। बचाउन लायक छ। साँझ एक छिन हिँडेर सूर्यास्त हेर्दा राम्रो नै देखिन्छ। नयाँ मान्छे भेटेर कुरा गर्दा नौलो नै लाग्छ। बीच बीचमा रोकिएर दुनियाँ सायद हेरिरहनु पर्छ। नत्र समय बितेको पत्तै हुँदैन। अस्ति भर्खर एसएलसी दिएको केटोको आज केही उल्लेखनीय कुरा नगरी एक चौथाइ जीवन सकिन सक्छ? केका लागि ? यसको उत्तर छ कसैसँग?
सबैलाई किन जित्नु छ? सबैलाई किनु भाग्नु नै छ? किन स्कुलको लाइब्रेरीमा यु क्यान वीन भन्ने किताब हुन्छ? जीवनमा सबैले त जित्दैनन् असलमा निकै कमले जित्छन्, सबैले जिते हार्ने कसले? के जीवन नजित्दा बाँच्ने लायक हुँदैन? किन लाइब्रेरीका भित्तामा यु डन्ट निड टु वीन किताब हुँदैन? कौन्सा यो दुनियाँलाई जितेर के नै हुन्छ र? आखिर ‘ ए दुनियाँ अगर मिल भी जाए त्यो क्या है?’
नबनेको फिल्मबाट: एउटा क्यारेक्टर जो लेखक हो। केवल देखिनलाई लेखक। जसको आफ्नै विचारसँग क्लियारिटी छैन। के भन्न चाहन्छसमेत थाहा छैन। के लेख्ने हो अनभिज्ञ छ। अल्झिएको छ आफ्नै विचारमा तर अल्झिनलाई पनि त विचार चाहिन्छ नि! के ऊसँग आफ्नै स्वतन्त्र विचारहरू छन्? के विचारहरू स्वतन्त्र हुन्छन्? हाम्रा विचार हाम्रै हुन् या तिनका हुन जसलाई हामी पढ्छौं, सुन्छौं, देख्छौं? के भन्नलाई शब्दको जर्जर मलखातो जरुरी छ, अनि खोइ त्यसमा विचारको खोसमेरा? त्यसमा सिर्जनाको शक्ति जसमा साहित्य उम्रियोस्?
कुरालाई घुमायो घुमायो सीधा कुरालाई कम्प्लिकेट गऱ्यो। दुई चार वटा फगत मानौं अस्तित्व लेख्यो। लेख्यो चिया, कफी, क्याफे। लेख्यो प्रेमिकाको आँखा। लेख्यो जून। अनि पुग्यो त्यतिले? किन लेखकले भीडमा प्रेमिकाकै आँखा मात्र देख्छ। देख्दैन छेउमा लेप्रोसी लागेर सढेको खुट्टा। देख्दैन सहरको प्रदूषण। देख्दैन गरिबी। देख्दैन चिसोमा रातभर बाटो छेउ सुत्ने मान्छे। के ती जनता हुन्? जसको कुनै देश छैन। अनि देशलाई जसको मतलब छैन ती कसरी जनता हुन सक्छन्? ती त केवल लाश हुन् जो पर्खाइमा छन् एउटा चिसो रात जहाँ उनीहरूले खाएको कमसल दारुमा मिथानोल मिसिएर मर्ने छन्। ती पर्खाइमा छन् एउटा बत्तिएर आउने गाडी जसले उनीहरूलाई किचेर मार्ने छ। उनीहरूको मृत्युको कसैलाई प्रवाह हुने छैन। जसरी उनीहरू भएर कसैलाई फरक परेको थिएन।
मलाई यो फिल्म हेर्न मन पर्छ।
यो लेखक मन पर्छ।
गीत सुन्न मन पर्छ, घुम्न मन पर्छ।
हाइकिङ मन पर्छ।
कति सुन्ने यही, उही, उस्तै, एउटै कुरा।
अँ बिरालो मन पर्छ।
बिरालो कसलाई मन पर्दैन?
के हामी यी सतही कुराबाट माथि उठ्न सक्दैनौं?
सक्छौं।
तर, सुरुमै जीवन आत्महत्या गर्न लायक छ कि नाइँ भनेर कुरा सुरु गर्नु पनि त भएन नि!
नाओ वी आर टकिङ! आई ह्याभ अलरेडी स्टार्टेड लाइकिङ यु!
यति छिट्टै?
समय वेस्ट गर्न समय कोसँग छ?
यति धेरै रिजेक्सन सही सकें, रिजेक्सन डन्ट डिस्अपोएन्ट मी एनीमोर!
गम से अब घबराना कैसा गम सौ बार मिला!
फिल्म हेर्न, सुत्न र घुम्न कसलाई मन पर्दैन?
पढ्न, काम गरिरहन कसलाई मन पर्छ?
उही मुस्कानको आदान-प्रदान। उही जीवन जगत्का कुरा।
म सोच्थें हिरोहरू किन मन दुखाउँछन्?
किन त्यति माया गर्ने हिरोइन पाउँदा पनि भागिरहन्छन्। के आजकालको लभ यस्तै हुन्छ?
आज़ाद हूं मैं तुझसे
आज़ाद है तू मुझसे
हाँ जो जी चाहे
जैसे चाहे करले आज यहीं!
के त्यो पुरानो वाला ओल्ड स्कुल लभको जमाना सकिएको हो? के ट्रु लभ आउट अफ फ्यासन भैसक्यो ?
हिरोहरू किन यसरी यति निष्ठुरी बन्छन्? म किन यसरी निष्ठुरी हुन्छु? म किन आफ्नै कमी कमजोरीहरूबाट माथि उठ्न सक्दिनँ?सिनेमा चाहे ब्ल्याक एण्ड ह्वाट होस् या रंगीन तर जीवन त प्राय: ग्रे नै हुने रहेछ। मान्छेको स्वभाव र उसले किन गऱ्यो जो गर्याे बुझ्न सायद उसकै ठाउँमा हुनुपर्ने रैछ। उसकै खुट्टामा उभिनुपर्ने रैछ।
अचेल एक हिसाबले मलाई दुःखी बनाउने कारण फिल्म नै हुन्। फिल्ममा अझ राम्रा फिल्ममा हिरो लेयर्ड हुन्छ। उसलाई नाँच्न, गाउन, फकाउन, हसाउँन, कति खेर के बोल्न सब आउँछ जब कि जिन्दगीमा मान्छे फ्लट हुन्छ, विथ नथिङ इन्ट्रेस्टिङ टु बिर्ङ्ग टु दी टेबल।
जीवन सिनेमामा हेरे जस्तो सुन्दर छैन बहुत गाह्रो छ! जीवन कति प्रिडिक्टेटिबल छ। अहिले दुःख। यसपछि दुःख। अनि त्यसपछि पनि दुःख नै छ।
मलाई मैले रिकमेन्ड गरेको फिल्म हेर्ने मान्छे खुबै मन पर्छन्। प्रथमत: म सुन्दर सिनेमा रिकमेन्ड गर्छु (ओ फेलेक्सिङ!)। तैपनि पचास साठीको दशकको श्यामश्वेत सिनेमा जहाँ सब सुस्त गतिमा हुन्छ, धैर्य साथ हेर्नु। चारुलताको आँखामा डुब्नु , जीवनको छन्दमा बेरिनु। विजय जसले प्रेमका होइन गरिबीका कविता लेख्छन्। ती कविता सुन्नु र तिरस्कार गर्नु यो दुनियाँलाई अनि यसको खोक्रोपनलाई कम्तिमा त्यो फिल्म हेर्दासम्म। मैले भनेकै भरमा ती फिल्म हेर्ने र आफ्नो समय त्यस सिनेमा खर्चिने! मलाई यो एटेन्सन स्प्यान ध्वस्त भएको युगमा ती मान्छेहरू खुबै मन पर्छन्।
एकजना ज्ञानी मान्छेले भन्नु भाछ। एक्लोपन सिनेमामा सिनेम्याटिक हुन्छ। र पीडा कवितामा, जीवनमा होइन। पाेइटिक स्याडनेस! सिनेम्याटिक लोन्लिनेस। हाम्रो उदासी, एक्लोपन, स्वार्थ, रिस, राग , घृणा पक्कै सुन्दर नहोलान् तर ती त्यही हुन् जसले हामीलाई मान्छे बनाउँछन्। सायद उदासी र रिसको बाटो नगई आत्मपहिचानको क्यारेक्टर आर्कसम्म पुगिँदैन। प्राउस्टले भनेका थिए- मलाई मेरा उदासी र एक्लोपनका दिनहरूले नै त्यो बनाए जो म आज छु। मैले प्राउस्ट नपढेको हुँला तर लिटिन मिस सनसाइन हेरेको छु। कुरूप त यो दुनियाँ हो नानी, तिमी त सौन्दर्यकी प्रतिमूर्ति हौ।
जिन्दगी रोम कम भएकै जाती। बर्गम्यान र ब्रेसन हेर्दा कलात्मक होलान् फिल्ममा, होलान् डीप तर बाँच्ने जीवनमा भने म चाहन्छु मेरो जिन्दगी फराह खानको म्युजिकल फिल्न बनोस् न कि फेन्च वेभको। वेस्ट वर्ल्डमा हपकिन्स भन्छन्,
‘संसारमा केटाले जेसुकै गर्छ त्यो सब केटीलाई इम्प्रेस गर्न गर्छ, मेट एट्र्क्ट गर्न गर्छ!’ यो पुरानो थ्योरी होला नयाँमा मान्छेले जे गर्छ पार्टनर इम्प्रेस गर्न गर्छ, पार्टनर एट्रक्ट गर्न गर्छ। संसारका सबैभन्दा सुन्दर कविता, संगीत, पेन्टिङ, साहित्य, एटम बम्ब, नरसंहार, युद्ध, फिल्म, पढाइ, चन्द्रमा सब पार्टनर इम्प्रेस गर्ने तरिका हुन्।
यदि मान्छेलाई पार्टनर इम्प्रेस गर्न थिएन भने अहिले प्रेमिकाहरू सायद म्याक्स रातो गुलाबमा चित्त बुझाउँथे। मान्छे चन्द्रमा पुग्ने थिएन। मरी जाने जिन्दगीमा किन गर्ने त्यति दुःख? अखिर त्यो दुःखको अर्थ के, औचित्य के? म चाहन्छु मेरो जिन्दगी सिनेमाजस्तै बनोस्। सुन्दर, इन्ट्रेस्टिङ, नन फ्लाट , प्रेमिल आदि इत्यादि। तर जिन्दगी जिन्दगी जस्तै छ। जे जे कुरा सिनेमामा हुन्नन् तिनको भरमार छ र जे कुराले जीवन सुन्दर बनाउँछन् तिनको एकदम कमी! जस्तै बिहान उठेको, ब्रस गरेको , काममा गएको, गाली खाएको, कपडा धोएको, घरबेटीको किचकिच, महानगर यतायतको उकुसमुकुस, कर्कश ट्या ट्या र टु टुट। किताबको भारी, पढाइको दिकदारी , आदि इत्यादी! देखाउनै परे यी कुरा एक मिनेटको मोन्टाजमा सकिने कुरा हुन्!
लाग्छ म हिरो बनूँ कुनै पाकिस्तानी धारावाहिकको फवाद खानजस्तै कहिले कसो जूनलाई आफ्नै अघि देखिरहूँ अनि जिन्दगी गुलजार भैरहोस्। सिनेमा हेरेपछि म एकछिनलाई सौन्दर्यको पूर्णतामा पुग्छु त्यसपछि सब भताभुङ्ग! अब छैन र शेष रहेन त्यो जो अघि भर्खरसम्म थियो। कता छ त्यो क्षण; पूर्णताको, प्राप्तिको , सन्तुष्टिको, सौन्दर्यको , सम्झनाको , कसरी फुस्क्यो त्यो पल मबाट। कसरी गयो मबाट दूर मात्र हराउन कुनै अन्धकारमा।
हामी कहाँ भट्ने छौं?
वान्स अपन अ टाइममा जहाँ एउटा कथा सुरु हुने छ
राम्रो हुने छ त कथा
खै, सायद होला! था छैन।
आफ्नै विचार
आफ्नै स्वभाव
आफ्नै परिस्थितिहरुका
सुमेरु पर्वतहरुले थिचिएको म
एक दिन यी सबलाई पार गरेर
आउँनेछु तिमीलाई भेट्न
सायद रुमीको त्यो खुला मैदानमा !