
विवाह दुई व्यक्ति (महिला र पुरुष) परिवारबीचको सामाजिक परम्पराद्वारा मान्यताप्रदत्त सम्बन्धको जोड हो। विवाहले दुई हृदयको नाता सम्बन्धको अभिवृद्धि गर्दै सन्तानोत्पादनका लागि मार्गप्रशस्त गर्छ। विवाह विभिन्न धर्म, संस्कृति, जात-जाति, सम्प्रदायअनुसार भिन्न सामाजिक रीतिमा रहेर गरिन्छ।
प्राचीनकालमा विवाह गर्ने उमेर स्त्रीको हकमा रजस्वला हुनुपूर्व र पुरुषको हकमा विर्यशाली हुँदासम्म थियो। कानुनी मान्यताअनुसार हाल विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। धर्म र कानुनले तोकिएको मापदण्ड पूरा गरी गरिएको विवाहलाई समाज र कानुनले वैधता प्रदान गर्छ। यदि, सूक्ष्म अध्ययन गर्ने, सजगता अपनाउने हो भने विवाह गर्दा वा गर्नुपूर्व विवाहका पात्रहरूको मानसिकता तथा अपेक्षाअनुसार नै विवाहपछिको सम्बन्ध तय हुने गर्छ। कुनैपनि व्यक्तिले आफ्ना आवश्यकता मात्र पूरा गर्ने अपेक्षाले विवाह गरेको हो भने त्यहाँ सम्बन्ध त्यति सुमधुर बन्न सक्दैन।
दुई व्यक्तिबीचमा माया, हौसला, आत्मीयतालाई साझा गर्दै सुख-दुःखमा साथ दिने हेतुले गरिएको विवाहमा साम्बन्धिक सुमधुरता कायम रहेको हुन्छ।
अतः विवाहलाई एक बन्धनको रूपमा वा उत्सबको रूपमा मनाउने व्यक्ति विशेषको सम्झौतामा निर्भर रहन्छ।
विवाहको परम्परागत थालनी
मानव जीवनलाई आदर्श रूपमा व्यवस्थित गर्नका लागि विवाहको चलन शुरु गरिएको हो। प्राचीनकालको अध्ययन गर्दा विवाहको व्यवस्था पाइँदैन।
महिला-पुरुषबीच समय अवधि र सन्तान उत्पादनको किटान गरी मौखिक सम्झौताअनुसार सम्बन्ध स्थापित गरिन्थ्यो र सम्झौता सकिएपछि स्वतः दुवै स्वतन्त्र हुने परिपाटी थियो। विवाहको चलन बसाल्ने प्रमुख श्रेय ऋषि उदालकका पुत्र श्वेत केतुको रहेको कुरा हिन्दू पुराणमा उल्लेख गरिएको छ।
श्वेत केतुको आमालाई आफ्ना बाबुसँगको सम्झौता भंग भइसकेपछि कसैले जबर्जस्ती तानेर लैजान खोज्दा अपमान बोध भई प्रतिकार गर्दा सभाबाट छोडिदेऊ भन्ने आदेश सुन्छन् र यो किन भयो भन्ने अध्ययन गर्छन्, तत्पश्चात् उनलाई ज्ञात भएपछि एक पुरुष र एक महिलाका लागि सँगै बस्नुपर्ने, विवाह जरुरी रहेछ, गर्नुपर्छ भन्ने नियम बनाए र प्रचलन सुरू भयो भन्ने किंवदन्ती छ। हाल आ-आफ्नो धर्म, संस्कृति, जात भूगोलअनुसार विवाह विधि फरक-फरक छन्।
विवाहको शास्त्रीय, सामाजिक प्रकार
हिन्दूपरम्परा र शास्त्रअनुसार विवाहलाई ८ प्रकारमा वर्गीकरण गरी व्याख्या गरिएको छ। ब्राम्ह, दैव, आर्ष, पैशाच, आर्य, गन्धर्व, प्राजापत्य, आसुरी, राक्षसी विवाह। यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, परम्परागत भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम वा गन्धर्व विवाह र दर्ता विवाह आदिमा वर्गीकरण गरिएको छ।
परम्परागत रूपमा चलिआएको मागी विवाह हो, हालसम्म कायमै छ भने जारी विवाह उन्मूलन भइसकेको छ।
हालको शिक्षित समाजमा प्रेम विवाहको परिपाटी फस्टाउँदो रूपमा देख्न सकिन्छ। समय कालखण्ड एवं विभिन्न मूल्य-मान्यताले गर्दा परम्परागत रूपमा स्थापित विवाहलगायत वैवाहिक जीवनमै फेरबदल आएको पाइन्छ।
विवाहसम्बन्धी कानुनी व्यवस्था
हालको नयाँ कानुनी व्यवस्थामा विवाहलाई स्पष्ट रूपमा व्याख्या गरिएको छ। मुलुकी देवानी संहिता २०७४ को दफा ६८ अनुसार विवाह अनतिक्रम्य सामाजीक बन्धन हो।
दफा ६८(१) विवाह पुरुष र महिलाबीच दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नका लागि कायम भएको एक स्थायी, अनतिक्रम्य तथा स्वतन्त्र सहमतिमा आधारित एक पवित्र सामाजिक तथा कानुनी बन्धन भनी परिभाषित गरिएको छ। परम्परागत, दर्ता, गन्धर्व वा प्रेम विवाहको परिकल्पनाअनुसार विवाहलाई कानुनी रूपमा वर्गीकरण गरिएको छ। विवाह गर्ने प्रक्रिया धेरै प्रकारका हुन्छन् तर कस्तो विवाहलाई कानुनले मान्यता दिने र कस्तो विवाहलाई कानुनी मान्यता प्रदान नगर्ने, बदर गर्नेबारे मुलुकी देवानी संहितामा प्रस्ट रूपमा व्यवस्था गरिएको छ।
यदि, पुरुष र महिलाले एक अर्कालाई पति/पत्नीको रूपमा स्वीकार गरेका छन् भने यसरी गरिएको विवाह मान्य हुन्छ। हाडनाता विवाहलाई कानुनले अपराध मानेको छ र कडा सजायको पनि व्यवस्था गरेको छ। पदि, कुनै पुरुष र महिला उनीहरू विवाहित छैनन् वा विवाह गर्ने समयमा उनीहरूको पहिलेको वैवाहक सम्बन्ध अन्त्य भइसकेको छ भने त्यस्तो विवाहलाई कानुनले मान्यता दिन्छ। जुन विवाह कानुनअनुसार मान्यता प्राप्त गर्न सक्दैन त्यस्तो विवाहलाई कानुनले मान्यता दिँदैन र त्यसरी रीत नपुर्याई गरिएको विवाहलाई कानुनले बदर गर्न सक्छ।
कहिलेकाहीँ कानुनले विवाहलाई बदर मात्र नगराई त्यसो गर्ने गराउनेलाई सजाय पनि गर्न सक्छ। यसबारे विस्तृत रुममा मुलुकी देवानी संहिता २०७४ को दफा ७१ र ७२ र ७३ मा विवाह बदरसम्बन्धी व्यवस्था गरेको छ।
सामान्यतया उमेर नपुगी र करकापमा पारी गरिएको विवाह स्वतः बदर हुने व्यवस्था छ। यसको साथ साथै विवाहसम्बन्धी कसुर र सजायसम्बन्धी कानुनी उपचारको व्यवस्था गरेको छ। दफा ८२ अनुसार यदि विवाह दफा ७२ र ७३ अनुसार बदर भएमा, कानुनबमोजिम पति/पत्नीको सम्बन्धविच्छेद भएमा, पत्नीले कानुनबमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने व्यवस्था गरेको छ।
दफा ८१(१) अनुसार महिलाले विवाहपछि पति वा पिता दुबैको थर लेख्न पाउने व्यवस्थासमेत गरेको छ।
विवाह बन्धन एक परिदृश्य
विवाहपश्चात महिला र पुरुषको बीचमा विभिन्न पारिवारिक जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा कतै समझदारीमा गरिन्छ भने कतै विभेदयुक्त रूपमा जिम्मेवारी थोपर्ने गरिन्छ। महिला भएकै कारण उसलाई विभिन्न प्रकारका बन्देज परिवारमा लगाइएको पनि पाइन्छ।
स्वतन्त्रताको गला निमोठी, बाध्यात्मक परिस्थिति सिर्जना गरी सम्बन्धलाई बोझिलो बनाइन्छ। विवाहजस्तो पवित्र प्रेमिल सम्बन्धलाई एउटा बाध्यात्मक बन्धनको रूपमा परिष्कृत गरिन्छ र सन्तान उत्पादन र परिवार सिर्जनामा मात्र सीमित राखिन्छ भने यस्तो विवाहलाई विशुद्ध विवाह बन्धन भन्दा अनुपयुक्त हुँदैन।
कुनै विवाह आवश्यकता मात्र पूर्ति गर्ने सिलसिलामा गरिन्छ। जस्तोः एक्लोपनको तिक्तता मेटाउन, वृद्ध बाबुआमाको स्याहार गर्नजस्ता मानसिकता पूर्ति गर्नका लागि गरिएका विवाह प्रायः विवाह बन्धनको रूपमा मात्र सीमित भइरहेको पाइन्छ।
एकले अर्कोलाई शंकाको घेरामा राख्ने, हरेक व्यवहारमा स्पष्टिकरण दिनुपर्ने, मानसिक, भावनात्मक र शारीरिक स्वतन्त्रताको ख्याल नगरिने विवाहमा प्रेम, विश्वासजस्ता पवित्र कुरा झांगिन पाउँदैनन् र पारिवारिक मिलनको न्यानोपनमा खडेरी पर्न गई गुनासोले भरिएको सम्बन्ध बोझिलो बन्छ।
प्रेम, विश्वासरहित परिवारमा केवल कर्तव्य र अधिकारको मात्र कुरा उठ्छ जसले गर्दा बाहिरी सम्बन्धले प्रश्रय पाउँछ। साथै, डिप्रेसन, एन्जाइटीको सिकार हुन बाध्य हुन्छ। प्रेमले सम्बन्ध चल्ने भन्दा पनि बाध्यताको सम्बन्ध निर्वाह भइरहेको हुन्छ जसको परिणाम आजको बढ्दो सम्बन्धविच्छेदलाई मान्न सकिन्छ।
विवाह उत्सव एक परिदृश्य
महिला-पुरुषबीचको प्रेम, विश्वास र समझदारीलाई साझा गर्दै परिवारको मूर्तरूप दिने व्यवस्था नै विवाह हो । जहाँ पवित्रता, स्वच्छता, स्पष्टता, प्रेम, विश्वासको समष्टी परिकल्पना गरिएको हुन्छ।
विवाहमा २ व्यक्तिबीचको सौहार्दपूर्ण आपसी समझदारीद्वारा एउटा सुन्दर परिवार स्थापना भएको हुन्छ।
श्रीमान्/श्रीमतीबीच एकअर्काको आवश्यक स्वतन्त्रताको ख्याल गर्दै भावनात्मक, मानसिक र शारीरिक रूपमा कदर गरिन्छ। हरेक परिस्थितिमा विवाहलाई उत्सवमय बनाउनका लागि स्वस्थ मानसिकता आवश्यक पर्छ।
एकअर्कामा मगन्ते भिखारीपनको ठाउँमा प्रेमको माधुर्यताको विकास गर्नुपर्छ र स्वधर्मको ख्याल गर्दै सम्बन्ध निभाउनुपर्छ। स-साना कुरामा हर्षोल्लास गर्न सिक्नुपर्छ। एकअर्कामा गुणस्तरीय समय व्यतित गर्दै सानादेखि ठूला निर्णयमा एक अर्काको आपसी समझदारी समेतको साझेदारी रहनुपर्छ।
अरुबाट के पाउने भन्दा पनि आफूले आफ्नो परिवारमा के-कस्तो योगदान दिएको छु भन्ने ख्याल रहनुपर्छ।
एउटा व्यक्तिले अर्कोलाई परिवर्तन गर्न खोज्नु, आक्षेप लगाउनुभन्दा पनि आफूले गर्ने व्यवहारप्रति सजग रही स्वधर्म पालना गरिनु अपरिहार्य हुन्छ।
एकअर्काप्रति अहोभाव, कृतज्ञता धन्यतासहित प्रेम हुनुपर्छ र स्वीकारको भावमा वर्तमानमा जिउनुपर्छ। अनुमानको भरमा कसैप्रति धारणा बनाउनुभन्दा पनि वास्तविकता पहिचान गरी स्पष्ट वार्तालाप गर्नुपर्छ। जसले गर्दा विवाह हरपल मिठासपूर्ण उल्लासमय उत्सव बन्छ।
उत्सव बनाई रम्ने वा बन्धन बनाई कसिने व्यक्ति विशेषको हातमा रहन्छ। तसर्थ यो सुन्दर जीवनको एक अपरिहार्य विवाहलाई उत्सवमय बनाउँदै जीवन जिउँदा यहीँ वृन्दावन, स्वर्ग, वैकुण्ठको अनुभूति गर्न सकिन्छ।
(लेखक अधिवक्ता हुन्।)