
इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ। आइतबार राति भएको लिग चरणको अन्तिम खेलमा सिटीले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दै लगातार चौंथो पटक उपाधि जितेको हो। इंग्लिस प्रिमियर लिगमा लगातार चौंथो पटक उपाधि जित्ने सिटी पहिलो टिम बनेको छ।
सिटीको जितमा फिल फोडेनले दुई गोल गर्दा रोड्रीले अर्को एक गोल गरेका थिए।
सिटीले जितसँगै ३८ खेलबाट ९१ अंक बनायो भने समान खेलबाट आर्सनल ८९ अंकका साथ दोस्रो स्थानमा रह्यो। त्यस्तै, लिभरपुल ८२ अंकका साथ तेस्रो र एस्टन भिल्ला ६८ अंकका साथ चौंथो स्थानमा रहेर च्याम्पियन्स लिगका लागि छनोट भए। लिगमा लुटन टाउन, बर्नली र सेफिल्ड युनाइटेड रेलिगेसनमा परे।
इतिहाड स्टेडियममा अन्तिम सिठी बजेसँगै घरेलु समर्थक मैदान प्रवेश गरेर खुसी साटेका थिए। आफ्ना समर्थकसँग सिटीका खेलाडीहरू समेत मैदानमा लगातार चौंथो उपाधिमा झुमे। प्रशिक्षक पेप ग्वार्डिओलाले लगातार चौंथो संस्करण सिटीलाई च्याम्पियन बनाउन सफल भएका हुन्।
अन्तिम खेलसम्म उपाधि होडमा रहेको आर्सनल भने एभर्टनलाई २-१ ले पराजित गरेपनि अंक तालिकामा २ अंकले पछि रहँदै दोस्रो स्थानमा रहन बाध्य भयो। खेलमा इद्रीसा गुएको गोलमार्फत एभर्टनले ४० औं मिनेटमा अग्रता बनाएको थियो तर जापानी खेलाडी तकिहिरो तोमियासुको गोलमा आर्सनलले ४३ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। आर्सनलका लागि विजयी गोल भने ८९ औं मिनेटमा काइ हावर्टले गरेका थिए।
उपाधि जित्ने क्रममा सिटी भने सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको थियो। उसले दोस्रो मिनेटमै अग्रता लिएको थियो। बर्नान्डो सिल्भाको पासलाई फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुवातमै अग्रता दिलाए। लगत्तै सिटीले १८ औं मिनेटमा फोडेनकै गोलमा अग्रता दोब्बर बनायो। जेरेमी डोकुको पासलाई फोडेनले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गरेका थिए। तर पहिलो हाफमै वेस्ट ह्यामले एक गोल फर्कायो। उसका लागि मोहम्मद कुडुसले ४२ औं मिनेटमा दोस्रो गोल फर्काएका थिए।
तर दोस्रो हाफमा सिटीले पुन: अग्रता बढायो। ५९ औ मिनेटमा सिटीका लागि बर्नान्डो सिल्भाको पासलाई रोड्रीले गोल गर्दा सिटीले ३-१ को अग्रता बनायो। जुन अग्रता कायम राख्दा सिटी च्याम्पियन बन्यो।