
कैयौं बोधीवृक्षमुनि
कैयौं पल्ट सुस्ताएहुँला!
बसेको हुँला भोकै
एकलासको चिन्तन बोकेर!
अझै भौतारिएकै छु पहाड-मैदान
बनेर कुहिराको काग!
बुद्ध जन्मिएको तीन सहस्र वर्षपछि
म जन्मेको हुँ एउटा अध्यारो गाउँमा,
जहाँ अझै पुगेको छैन बुद्धत्व!
यता, म अभिशप्त भीष्म बनेर
आफ्नो निष्ठा अर्पिरहेछु
एक धृतराष्ट्र शासनप्रति!
अहो!
उहिले ज्ञानको खोजीमा
राजपाठको त्याग !
अहिले सत्तारोहणको निम्ती
अस्थिपन्जरको सोपान निर्माण !
आज,
म लोभको वंशीभूत भएर
इर्ष्याको हतियार बोकी
प्रतिषोधको आगोमा जलिरहँदा
संकोचमा छ मान्छे!
सन्देहमा छ शान्ति!
संकटमा छ धर्म!
‘अहिंसा परमो धर्म!’
बुद्धसम्म पुग्ने मार्ग मेरो
अझै सुदूर देखिरहेछु!
म आज बुद्धको छायाँसँग
याचना गरिरहेछु भिक्षा
अप्रतिम करूणाको
‘सर्वे भवन्तु सुखिन:’
बोधीमाटोमा
गहिरो जरा होस् प्रेमको
नमरोस् मानवता
नडगोस् परम् सत्य!
नमो तस्स
भगवतो अरहतो
सम्मा सम्बुद्धस्स !!!