
वीरगञ्ज – पछिल्लो केही दिनदेखि गर्मी अत्यधिक बढेपछि पर्सा र बाराका विद्यालयमा बिदा दिइएको छ। केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयमा बिदा दिन थालिएको हो।
पर्सा–बाराका स्थानीय तहले आफ्ना पालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका हुन्। पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्र भित्रका विद्यालयमा जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।
यस्तै, पर्सागढी नगरपालिकाले जेठ १६ गतेदेखि १८ गतेसम्म तीन दिनका लागि नगरपालिका मातहतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ।
त्यस्तै, कालिकामाई गाउँपालिकाले पनि जेठ १६ देखि १८ गतेसम्म तीन दिनका लागि विद्यालयमा बिदा दिइएको गाउँपालिकाका निम्ति शिक्षा शाखाका प्रमुख मणिभूषणप्रसाद साहले सूचनामार्फत जानकारी दिएका छन्।
उता, बाराको जितपुर–सिमरा उपमहानगरपालिकाले पनि जेठ १६ देखि १८ गते सम्म नगरभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव शिवजी प्रसादले बताए।
पछिल्लो केही दिनदेखि पर्सा बारासँगै मधेस प्रदेशमा अत्यधिक गर्मी बढेको छ। वीरगञ्जमा दैनिक ४२ डिग्रीभन्दा माथि तापक्रम रहने गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि आगामी केही दिनसम्म पर्सा बारासहित तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी सोमबार विशेष बुलेटिन प्रकाशन गर्दै आगामी तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सोको असरबाट बच्न आवश्यक तयारीसहित सतर्कता अपनाउन अनुरोध गरेको हो।