
काठमाडौं- आठौं प्रधानमन्त्री कप एनभीए पुरुष तथा महिला लिग भलिबलमा पुरुष तर्फ हेल्प नेपाल र महिला तर्फ नेपाल पुलिस च्याम्पियन बनेका छन्। शनिबार सम्पन्न फाइनलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३-१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपालले उपाधी रक्षा गरेको हो।
हेल्प नेपालले उपाधि जित्ने क्रममा गण्डकीलाई २५-२२,२५-२०, २०-२५ र २५-२० ले पराजित गर्यो। गण्डकी प्रदेश भने उपाविजेतामा नै सीमित बनेको छ। लिग चरणमा अपराजित हुँदै आएको गण्डकीले फाइनलमा भने आफ्नो लयलाइ कायम राख्न असफल भयो।
त्यस्तै महिलातर्फ भने नेपाल पुलिस क्लबले उपाधि जितेको छ। पुलिसले लिगमा अपराजित हुँदै फाइनल आएको एभरेष्ट भलिबल क्लब बुटवललाई ३-२ ले पराजित गर्दै उपाधि जितेको हो।
पुलिसले एभरेष्टलाई २५-२१, २५-२३, २०-२५, २०-२५ र १५-१२ को सेटमा पराजित गरेको हो। पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो। पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो। प्रतियोगितामा पुरुष तर्फ ८ टिम र महिला तर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए।