
काभ्रे- नेकपा (एमाले) काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन्।
नयाँ कमिटी निर्माणका लागि भएको मतदानको मतपरिणाम अनुसार ३८० मत प्राप्त गर्दै भुर्तेल अध्यक्ष पदमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी चन्द्रबहादुर लामाले २९९ मत प्राप्त गरे।
यसअघि भुर्तेल एमाले काभ्रेको सचिव थिए भने लामा उपाध्यक्ष थिए।
पदाधिकारीमा उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन्।
लामाको प्यानलबाट उपाध्यक्षमा आत्माराम थापा, सचिवमा होम चौलागाई, उपसचिव खुल्लामा पुरुषोत्तम अधिकारी र उपसचिव (महिला) मा पवित्रा भुर्तेलले प्रतिस्पर्धा गरेका थिए। जिल्ला कमिटीमा ५ पदाधिकारी, भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ ७ सदस्य गरी कुल १ सय ५ निर्वाचित भए।
विद्युतीय मतदानमा ६८६ जना प्रतिनिधिमध्ये ६७९ ले मतदान गरेका थिए भने ७ जना उपस्थित भएनन्।