
झापा- मनसुन सक्रिय भएपछि भइरहेको बर्षाका कारण झापाका दक्षिण भेगका अधिकांश स्थान डुबानमा परेका छन्।
झापाको बाह्रदशी गाउँपालिका राजगढमा रहेको पशुपति माविको हाताभित्र पानी पस्दा डुबानमा परेको छ। त्यस्तै, कचनकवल, झापा, गौरीगञ्जका अधिकांश क्षेत्र डुबानमा परेका छन्।
तीन दिनयता लगातार परेको पानीको कारण कनकाई माईमा आएको बाढीले झापा गाउँपालिकामा मकैबाली नष्ट भएको छ। झापा गाउँपालिका २ सुगाबथान टोल नजिकमा स्थानीय कृषकले अन्दाजी ५० बिघामा लगाएको मकै खेतीमा पानी पसेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनियाँ, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेको हो। ती क्षेत्र बाढी प्रभावित इलाका हुन्।
शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन्। झापाका यी स्थानीय तह बाढीबाट बर्सेनि पीडित बन्दै आएका छन्।
अविरल वर्षाका कारण बिरिङ खोलाको बाढी पस्दा झापा गाउँपालिकाका चार परिवार बिस्थापित भएका छन्।
बिरिङ खोलाको पानी पस्दा अन्दाजी ३ फिट डुबान भएपछि झापा गाउँपालिका वडा नं. ६ युवाटोल बस्ने दिपक आचार्य, सिता दुलाल, प्रदिप सिंह र नविन बराइलीको परिवार बिस्थापित बनेका हुन्।
ती परिवार विस्थापित भइ सोही ठाउँ बस्ने केदार श्रेष्ठको खाली घरमा बसेको प्रहरी चौकी शरणामतिले जनाएको छ।
झापाको अर्जुनधारामा पहिरोका कारण एक परिवार बिस्थापित भएका छन्।
अर्जुनधारा नगरपालिका २ को लाप्चेटारमा माथिबाट पहिरो खसेर पुष्पा समाल मगरको घर पुरेर क्षति पुर्याएको हो। सो घरका सदस्यहरुलाई सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ।
अर्जुनधारा १ मा खानेपानी मुहानमा पनि बाढीले क्षति पुर्याएको छ। अर्जुनधारा २ रातेमा मदन भण्डारी मार्ग उत्तर १० घर डुबानमा परेका छन्।
लाप्चेटार सहकाले जाने बाटो पूर्ण अबरोध भएको र केही ठाउँमा खेतीयोग्य जमिन गोयाङ र टाङटिङ नदीले कटान शुरु गरेको छ।
अर्जुनधारा ३ मा सुखानी खोलाको कज्बेमा पूर्णरुपमा क्षति पुगी यातायात आवतजावतमा पूर्णरुपमा बन्द भएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिएका छन्।