
काठमाडौँ- केही दिनदेखि पूर्वी नेपालमा सक्रिय रहेको मनसुनका कारण पूर्वी नेपालका झापालगायत अधिकांश स्थानमा भारी बर्षा भइरहेको छ।
कोशी प्रदेशका अधिकांश भागमा भारी बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ।
बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी र मधेस प्रदेशमा पूर्णतया बदली, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ।
बागमती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
राति कोशी, मधेस, बागमती गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।