
काठमाडौँ- फ्रान्सिस्को कोन्सीकाओले इन्जुरी समयमा गोल गर्दा पोर्चुगललले युरोपियन च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। युरोपियन च्याम्पियनसिप अन्तर्गत समूह ‘एफ’ को खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो। पोर्चुगल विरुद्ध दोस्रो हाफमा चेक रिपब्लिकले अग्रता बनाए पनि पोर्चुगलले पुनरागमन गर्दै खेल २-१ ले जित्यो।
युरोकप छनोटमा सबै खेल जितेर सनसनीपूर्ण प्रदर्शन गरेको पोर्चुगल पहिलो खेलमा निकै कडा संघर्ष गर्नु परेको थियो। उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो छैटौं पटक युरोकप खेल्ने खेलाडी बनेको खेलमा उनले गोल गर्न भने सकेनन्।
जर्मनीको लाइपजिकको रेडबुल एरिनामा भएको खेलको पहिलो हाफमा दुबै टोलीले सीमित अवसरबीच गोल गर्न असफल भए। तर खेलको ६२औं मिनेटमा चेकले अग्रता लियो। लुकास प्रोभोडले गोल गर्दै टोलीलाई अग्रता दिलाए।
तर ६९औं मिनेटमा रोविन हरानाकले आत्माघाति गोल गर्दा खेलमा पोर्चुगलले बराबरी गर्न सफल भयो। ८७ औं मिनेटमा डिअगो जोटाले गोल गरेपनि भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएनन्। तर इन्जुरी समयमा फ्रान्सिस्कोले गोल गर्दै टोलीको तीन अंक सुनिश्चित गरे। २१ वर्षीय फ्रान्सिस्कोले आफ्नो डेब्यु खेलमै गोल गरेका हुन्। यसअघि उनी ९०औं मिनेटमा उनी भिटिन्हाको स्थानमा मैदान प्रवेश गरेका थिए।
कप्तान क्रिष्टियानो रोनाल्डो गोलविहीन रहे। उनीसँगै बर्नान्डो सिल्भा, ब्रुनो फर्नान्डेज, पेपे र रुविन डिआजले पूरा समय मैदान बिताएका थिए। समूहमा पोर्चुगलले पहिलो खेलबाट तीन अंक जोडेको छ। सोही समूहको अर्को खेलमा टर्कीले नवप्रवेशी जर्जियालाई ३-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो।