
काठमाडौँ – कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन्।
शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालिन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन्।
उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन्। उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी लान आवश्यक रहेको बताइन्।
उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताइन्। उनले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रुपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताइन्। उनले संस्थानलाई नयाँ स्वरुपमा सञ्चालन गर्नेगरी अबको एक महिनामा उथलपुथल गरिने बताइन्। उनले दुग्ध विकास संस्थानमा विचौलीया हाबी भएको भन्दै संस्था विचौलियाले चलाइरहेको दाबी गरिन्।
उनले संस्थानमा ९ सय कर्मचारीहरुमध्ये ३ सय अस्थायी र ६ सय कर्मचारी स्थायी रहेको बताइन्। उनले स्थायी कर्मचारीहरुलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताइन्। उनले दुग्ध विकास संस्थान अहिलेसम्म करारका कर्मचारीले थगेर ल्याएको भन्दै करारका कर्मचारी हटाउन सक्ने अवस्था नभएको बताइन्। उनले स्थायी कर्मचारीलाई कारबाही स्वरुप सरुवा गर्दा समेत सरुवा भएर जान नमानेको बताइन्। उनले संस्थानमा काम गर्ने कर्मचारीलाइ पनि काम गर्ने वातावरण नदिइएको संस्थानमा अब धेरै दिन कसैको दादागीरी नटिक्ने चेतावनी दिइन्।
उनले कर्मचारीले धेरै दिन दादागिरी देखाउने काम धेरै नचल्ने बताइन्। उनले आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने उल्लेख गरिन्।