
जनकपुरधाम – सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा करिब ९ वर्षपछि मधेस प्रदेशका पूर्व सांसद कौशल यादव पक्राउ परेका छन्। यादवलाई शनिबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई विकको हत्या गरेको आरोपमा फरार रहेका यादवको मुद्दा मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ९८ बमोजिम मुल्तवीमा थियो।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले यादवलाई आइतबार जिल्ला अदालत महोत्तरीमा हाजिर गराएकोमा आज नभ्याएकाले भोली फेरी अदालतमा पेश गर्ने बताए।
शनिबार राति करिब सावा ११ बजेको समयमा सम्सी गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कारपियोले विपरित दिशाबाट आउँदै गरेको प्र २–०२–००१ च ००४६ नम्बरको पिकअप गाडीले ठक्कर दिई भागेकोमा प्रहरीले पिकअपका चालक यादवलाई नियन्त्रणमा लिएको थियो।
यादव विरुद्ध २०७२ साल भदौ २५ गते प्रेम बहादुर विकले कर्तव्य ज्यान मुद्दामा मुद्दा दायर गरेकोमा त्यसयता यादव फरार थिए।