
वीरगञ्ज- पर्सादेखि रौतहटसम्म फैलिएको गण्डक नहरमा रहेका पुलहरू दिन प्रतिदिन जीर्ण बन्दै गएका छन्।
वर्षैदेखि मर्मतसम्भार नगरिएका नहरका पुलहरू दिन प्रतिदिन जीर्ण बन्दै गएका हुन्।
नहरमा रहेका थुप्रै पुल जीर्ण भएर भत्किने अवस्थामा समेत पुगेको छ। पर्साकै वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाबीचमा पर्ने गण्डक नहरको पुल भने अति जीर्ण अवस्थामा पुगेको छ। नहरमा रहेका पिल्लरहरूमध्ये हाल एउटा पिल्लर भत्किने अवस्थामा पुगेको छ।
गत वर्ष नै उक्त पुलका पिल्लरहरू केही भासिएका थिए। सोमध्ये अहिले पुलको पश्चिमतर्फ रहेको एउटा पिल्लर चर्किएको छ। पिल्लर चर्किएर पुल नै भत्किने अवस्थामा पुगेको हाे।
गण्डक नहरको पुलबाट दैनिक हजारौं सवारीसाधनहरू आवतजावत गर्ने गरेका छन्। साथै सर्वसाधारणहरू पनि दैनिक हजारौंको संख्यामा पुल भएर आहोरदोहोर गर्ने गरेका छन्।
पुलको पिल्लरलाई तुरुन्तै मर्मत गर्नुपर्ने वा नयाँ पुल नै बनाउनु पर्ने आवश्यकता रहेको पर्सा बहुदरमाई नगरपालिका ४ निवासी जगदिश पण्डितले बताए।
पुल भएर आवतजावत गर्दा डर लाग्ने गरेको तथा ठुला सवारीसाधनहरू आउँदा पुल नै हल्लिने गरेको उनको भनाइ छ।
१५ ब्लकमा विभाजित ८१ किलोमिटर लम्बाइको गण्डक नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोलादेखि बारा जिल्ला हुँदै रौतहटसम्म पुगेको छ।
गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्टहरू छन्। विसं २०३० जेठ २१ गते यो नहरको उद्घाटन गरिएको थियो।
गत वर्ष सडक विभागले गण्डक नहरको बोटो भने कालोपत्रे गरेकाे थियाे। तर पुल पुलेसाहरू भने जस्ताको तस्तै छन्। मर्मतसम्भारप्रति कसैकाे पनि ध्यान जान सकेकाे छैन।
गण्डक नहरको पुलमा चिरा परेको र उक्त पुलको तल रहेको भाग पनि भत्किएकोले त्यहाँ बोल्डर राखेर मर्मत गरिने नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगञ्जका इन्जिनियर एवम् सूचना अधिकारी सुरेश साहले जानकारी दिए। उनले पुल मर्मतको काम छिटो सुरु गरिने पनि बताए।