
झापा- यस वर्ष बाढीको उच्च जोखिममा रहेको झापामा पूर्वसूचना प्रणालीलाई जोड दिँदै साइरन जडान गर्न थालिएको छ।
मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीब्रता दिँदै बुधबार बाह्रदशी १ को भागुडुब्बामा साइरन जडान गरिएको हाे। जसबाट बाह्रदशीको दक्षिणी क्षेत्र, कचनकवल र पिण्डालवारीका बासिन्दाहरूले साइरनबाट बाढीको पूर्वसूचना पाउँछन्।
त्यस्तै, आज झापा गाउँपालिकाको सडकवारीमा रहेको सेन्ट जोसेफ स्कुलको छतमा जडान गरिने छ। त्यस साइरनले झापा गाउँपालिकाभरिका बासिन्दाहरूलाई अलर्ट गर्ने छ।
त्यस्तै, भोलि गौरीगञ्जको कुन्जीवारीमा रहेको बालकल्याण माविको छतमा जडान गरिने भएको छ। त्यसबाट गौरीगञ्ज गाउँपालिकाका दक्षिणी क्षेत्रका बासिन्दा बाढीको विपदबाट पूर्व सुसूचित हुनेछन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लामा थप तीन वटा साइरन जडान गरिरहेको हो। करिब एक महिनाअघि प्राधिकरणले निन्दा र बिरीङ खोलामा एक–एक वटा साइरन जडान गरेको थियो।
धेरै वर्षअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कन्काई नदीमा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए।
यसअघि झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा अब अति जोखिमयुक्त ग्रामीण क्षेत्रमा पनि साइरन जडान गरिएको रेडक्रसका सभापति ढकालले बताए।
नदी तथा खोलाहरुमा जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले करिब दुई किलोमिटर क्षेत्रसम्म आवाज दिँदै स्थानीयबासीहरूलाई सचेत गराउने गर्छन्। त्योसँगै कन्काईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ। कन्काईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ। निन्दा र बिरीङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए।
जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन्।
त्यस्तै, मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन्।
यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ।