मुगु – रारातालमा पौडी खेल्ने क्रममा तालमा डुबेर एक जनाको मृत्यु भएको छ। रारातालको पुर्बी भागमा पर्ने ठाकुर नाथ नजिकै पर्ने तालको किनारमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका –५ का २१ वार्षिय शिशिर जङ्ग रावलको डुबेर मृत्यु भएको प्रहरीले बताएको हो।
मृतक रावल रारा ताल किनारमा निर्माणधिन साइकललेनमा मजदुरी गर्दै थिए । अरु चार जना साथीहरु सङ्ग घर फर्कने क्रममा उनी सहित अरु साथीहरुले तालको छेउमा पौडी खेल्दा रावलको मृत्यु भएको उनका काका नरेन्द्र रावलले जानकारी दिए।
दिउसो २ बजे घटेको घटना जानकारी पाउन बित्तिकै नेपाली सेनाको हनुमान ध्वज गुल्मा बाट २ वटा डुङ्गाबाट नेपाली सेना घटना स्थलमा पुगेको थियो । रारा विमान स्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोलि पुगि लास तालबाट बाहिर निकालेका थिए।
घटनाको मुचुल्का पछि लासको पोस्टमाटमका लागी जिल्ला अस्पताल ल्याउन लागीएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले बताए।