
वीरगञ्ज – गत जेठ ३२ गते बाराको सदरमुकाम कलैयामा रहेको रामराजा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहालाई गोली प्रहार गर्ने सुटर अझै पक्राउ पर्न सकेका छैनन्। क्याम्पस प्रमुखको गोली प्रहार गरी हत्या भएको २५ दिन बितिसिकेको छ। तर, कुशवाहालाई गोली प्रहार गर्ने सुटरलाई प्रहरीले अझैसम्म पक्राउ गर्न सकेको छैन।
क्याम्पस प्रमुख कुशवाहाको हत्याको क्रममा प्रयोग भएको दुई वटा पेस्तोल भने प्रहरीले बरामद गरेको छ। साथै हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले हालसम्म पक्राउ परेका आठ जनाविद्ध कर्तव्य ज्यान र हातहतियार खरखजाना कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर कारबाही अघि बढाएको छ।
आदर्श कोतवाल गाउँपालिका–२ निवासी कुशवाहालाई वडा नम्बर ३ मा मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरी हत्या गरेका थिए। गोली प्रहार भएपछि कुशवाहाले मोबाइलमा आफूलाई सुरेन्द्र कुशवाहाले गोली हानेको भिडियो रेकर्ड गरेका थिए। उक्त भिडियो बारा प्रहरीसँग पनि छ।
गोली प्रहार गर्ने सुरेन्द्र भने घटना भएको २५ दिन बितिसक्दा पनि पक्राउ परेका छैनन्। भिडियो मृतकले अन्तिम समयमा बनाएर सुरेन्द्रको नाम लिएकोले उनी नै मुख्य सुटर हुन सक्ने प्रहरीको अनुमान छ। तर, सुरेन्द्र भने हालसम्म फरार छन्। भिडियोमा सुरन्द्रको नाम क्याम्पस प्रमुखले लिएको तथा उनको खोजी भइरहेको बाराका एसपी महेन्द्र खडकाले जानकारी दिए।
घटनामा संलग्न रहेका ८ जनासहित हत्यामा प्रयोग भएको बन्दुक र मोटरसाइकल पनि बरामद गरिसकिएको तर गोली प्रहार गर्ने सुटर सुरेन्द्र नै भएको भनि यकिन गर्न सकिने अवस्था अहिले भने नरहेको उनले बताए।
‘हामीले घटनामा प्रयोग भएको पेस्तोल, मोटरसाइकल र केही व्यक्तिहरुलाई पनि पक्राउ गरिसकेका छौँ,’ उनले भने, ‘घटनामा संलग्न रहेकाहरु अझै फरार नै छन्। उनीहरुको खोजी भइरहेको छ।’
गत असार १७ गते बारा प्रहरीले बारागढी गाउँपालिका–५ पथरा टोलमा बस्ने हरिन्दर महरा चमारलाई कुशवाहाको हत्यामा प्रयोग भएको दुई वटा पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो। चमारले घटनामा प्रयोग भएको पेस्तोल आफ्नो बारीमा गाडेर लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।
त्यसअघि गत असार ११ गते क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने अवधलाल प्रसाद कुशवाहा, सोही स्थानका चाँदसी प्रसाद कुशवाहा, राधेशकुमार पटेल र विनोद राउत कुर्मी, कलैया उपमहानगरपालिका– १० मटिअर्वा टोल बस्ने आम्रपाली भन्ने ब्रह्मदेव राम र करैयामाई गाउँपालिका– ७ पिपरा टोल बस्ने मोतिलाल चौधरीविरुद्ध पनि प्रहरीले अदालतमा मुद्दा दर्ता गराएको थियो।
उनीहरुको साथबाट बा ३२ प ७०५५, ना ५९ प ४७८९ र ना ३३ प ५४६२ नम्बरको तीन थान मोटरसाइकल, ६ राउण्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरुसमेत प्रहरीले बरामद गरेको थियो।