
वीरगञ्ज – आँप टिपेको विषयमा विवाद हुँदा रौतहटमा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका– १ बौधा पतौरा घर भई ईशनाथ नगरपालिका–३ स्थित आफ्नो मामा घरमा बस्ने १८ वर्षीय दशई साह र सोही स्थानका १९ वर्षीय रोशन साह छन्।
मंगलबार राति सवा आठ बजे ईशनाथ नगरपालिका–३ स्थित नगरपालिकाको कार्यालयअगाडि रहेको आँपको बगैँचामा वडा नम्बर–९ बस्ने १७ वर्षीय सहवाज मियाँको शव हत्या गरिएको अवस्थामा फेला परेको थियो।
पक्राउ परेका दशई साहलाई मृतक मियाँको भाइले बगैँचामा आँप टिपेको विषयलाई लिएर कुटपिट गरेका थिए। सोही कुटपिटको रिसइबीलाई लिएर मृतक मियाँ बगैँचामा राति दिसापिसाब गर्न आएका बेला उनलाई दशईले रडले प्रहार गरी भुँमा लडाएका थिए।
पछि रोशनले आफूसित भएको छुरा प्रहार गरेर हत्या गरेको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्। हत्यामा संलग्न रहेका दुबै जनालाई बुधबार पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिई अनुसन्धान भइरहेको गिरीले बताइन्।