प्रकाशमान सिंहको सत्तारोहणः गुनको बदला गुन

प्रकाशमान सिंहको सत्तारोहणः गुनको बदला गुन
+
-

काठमाडौँ – सोमबार कांग्रेसको तर्फबाट नेतृत्व गर्दै प्रकाशमान सिंह उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्री बने। कांग्रेसमा मन्त्री बन्न चाहनेको ताँती हुँदाहुँदै अरुलाई पछि पारेर स्वास्थ्य लाभ गरिरहेका सिंहले नै सरकारमा उपप्रधानमन्त्री भएर जाने अवसर पाए।  त्यो पनि १० जनाको नेतृत्व गरेर।

उनी भर्खरै भारतमा उपचार गराएर फर्किएपछि घरमै आराम गरिरहेका थिए। आराम गरिरहेका सिंहलाई कांग्रेस वा सभापति शेरबहादुरले ‘जिम्मेवारीको भारी’ बोकाइदिएका छन्।

कांग्रेसबाट महामन्त्री गगन थापा, कृृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलगायतका नेताहरुलाई पछि पार्दै सिंहलाई नै सभापति देउवाले आराम गरिरहेका बेला पनि जिम्मेवारी दिनुका पछाडि ‘गुनको बदला गुन’ भएको टिप्पणी कांग्रेस वृत्तमा चलेको छ।

झण्डै तीन वर्षअघि भएको पार्टीको १४औँ महाधिवेशनमा सभापतिका लागि देउवासँगै प्रतिस्पर्धामा सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरुङ थिए। कांग्रेस विधानअनुसार पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा बढी मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुने भयो।

सिंह, निधि र गुरुङ प्रतिस्पर्धाबाट बाहिरिए।

पहिलो चरणको चुनावमा देउवाले २२५८, कोइरालाले १७०२, सिंहले ३७१, निधिको २५० र गुरुङले २२ मत ल्याएका थिए। ४६७९ मत खसेकोमा देउवालाई सभापति बन्न ८२ मत मात्रै नपुगेपछि चुनाव दोस्रो चरणमा प्रवेश गर्‍यो।

२०७८ मंसिर २८ गते दोस्रो चरणको चुनाव हुने भएपछि बिहानै देउवाको प्रतिनिधिका रुपमा तत्कालीन गृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँड सिंह निवास चाक्सीबारी पुगेर सिंहलाई देउवाको पक्षमा उभिन प्रस्ताव गरे। खाँडको प्रयास सकारात्मक भएपछि देउवा आफैँ सिंह निवास चाक्सीबारी पुगेर सिंहलाई आफूलाई सहयोग गर्न आग्रह गरे।

सिंह र निधिको समर्थनमा देउवा दोस्रोपटक सभापति निर्वाचित भए। आफूलाई सभापाति बन्न सहयोग गरे बापत सिंहलाई सके प्रधानमन्त्रीकै नभए उपप्रधानमन्त्री बनाउने वचन देउवाले दिएका थिए।

सकेसम्म गोप्य राख्न खोजिएको उक्त प्रतिबद्धताअनुसार सभापति देउवाले धेरै आकांक्षी पन्छाएर सोमबार सिंहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउने गरी उपप्रधानमन्त्री बनाएका हुन्। अर्थात् देउलाले आफूलाई सभपाति बन्न सिंहले लगाएको गुन तिरेका हुन्।

आफ्नै नेतृत्वको चुनावी सरकारमा सिंहलाई ल्याउन त्यसबेला सम्भव भएन। चुनावपछि कांग्रेस ठूलो दल बने पनि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने। कांग्रेस पछि सरकारमा जाँदा देउवाले आफ्ना अर्का विश्वासपात्र पूर्णबहादुर खड्कालाई सरकारमा पठाए।

यसपटक एमालेसँग सहकार्य गरेर सरकार बनाउदा देउवाले झण्डै तीन वर्षअघिको आफ्नो वचन पूरा गर्दै सिंहलाई अवसर दिएका हुन्। गत स्थानीय तहको चुनावमा देउलाले सिंह पत्नी सिर्जनालाई काठमाडौँ महानगरपालिकाको प्रमुखको उम्मेदवारसमेत बनाएका थिए।

सिंह कार्यकारी भूमिकामा अनुभवी मानिन्छन्। उनको सत्ता यात्रा यो ६औँ पटक हो। २०५४, २०५६, २०५७, २०६१ मा उनी जनसंख्या तथा वातावरण, स्थानीय विकास, आपूर्ति तथा वाणिज्य, भौतिक योजना तथा विकासमन्त्री बनेका थिए।

त्यस्तै २०७० सालमा सुशील कोइरालको सरकारमा उनी उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्री भएका थिए।

सिंह पहिलोपटक प्रतिनिधिसभा सदस्यमा २०५१ सालमा निर्वाचित भएका हुन्। संविधानसभा सदस्य निर्वाचन २०६४ र २०७० मा काठमाडौं १ बाट निर्वाचित भए। २०७०, २०७४ र २०७९ मा पनि उनी काठमाडौँ १ बाटै निर्वाचित भएका हुन्।

सोमबार पदभार ग्रहण गर्दै सिंहले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम प्रतिबद्धता जनाए। उनले भने, ‘मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ।’

जनअपेक्षाअनुरुप काम गर्न ठूला दल मिलेर सरकार बनाएको उनको दाबी थियो।

यो पनि पढ्नुहोस्

देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह

देउवाले ‘प्रधानमन्त्री’ दिन्छु भनी वचन दिनुभएको छ: प्रकाशमान सिंह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?