
पोखरा – गण्डकी प्रदेशले स्थापना गरेको गण्डकी विश्वविद्यालयले एमआइटी एआई विषय पढाउने भएको छ। विश्वविद्यालयले मास्टर अफ इन्फरमेसन टेक्नोलोजी आर्टिफिसियल इन्टेलीजेन्स विषयको पढाइ सञ्चालन गर्ने सार्वजनिक गरेको हो। सेप्टेम्बरदेखी एमआइटी एआईको कक्षा सुरु हुनेछ।
विश्वविद्यालयका डीन कपील अधिकारीले एमआईटी एआईको आवश्यक्ता ठानेर कार्यक्रम सार्वजनिक गरिएको बताए। विश्वविद्यालयले प्राविधिक विषयलाई प्राथमिकतामा राखेको उनको भनाइ छ। ‘एआईको अध्ययन गर्ने विद्यार्थी पछाडी पर्दैनन्। नेपालको अर्थतन्त्र सुधारमा एआईको भूमिका महत्वपूर्ण रहनेछ’, उनको विश्वास छ।
सरकारी तथा गैरसरकारी क्षेत्रमा एआईको प्रयोगलाई बढाउने उदेश्य सहित विश्वविद्यालयले एमआईटी एआई विषय पढाउने योजना बनाएको सुनाए। आइटीमा जति धेरै उत्पादन गरिएता पनि खपत हुने अधिकारीले बताए।
सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले एमआइटी एआई विषय समय सान्दर्भिक भएको बताए। बजारले खोजेको शिक्षा उपलब्ध गराउन विश्वविद्यालयलाई उनको निर्देशन छ।
‘प्रविधिमैत्री शिक्षा आजको आवश्यक्ता हो। बजारले खोजेको जस्तो शिक्षित जनशक्ति उत्पादनमा जोड गरौं’, उनले भने।
२०७६ सालबाट सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापन, कानुन, बिबिए, आइटी र फार्मेसी विषय पढाउदै आइरहेको छ।