
विर्तामोड – दुई देशका व्यापारीबिच कुटाकुट भएपछि पूर्वी नेपालको काँकरभिट्टा नाका शनिबार केहीबेर बन्द भएको छ। भारतका विकास र सञ्जिव नाम गरेका दुईजना व्यापारी र मेचीनगर नगरपालिका–६ का व्यापारी कुमार पोखरेलविचको झगडाका कारण केही बेर उक्त नाका बन्द भएको हो।
केही दिनअघि दुई देशका व्यापारीबिच झापाको इटाभट्टामा विवाद भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी जितेन्द्र बस्नेतले बताए। सोही विषयलाई लिएर शनिबार भारतका युवाले नाकामा एक घण्टासम्म अवरोध गरे। करिब एक घन्टाको प्रयासमा उक्त नाका खुलाइएको डिएसपी बस्नेतले जानकारी दिए।
व्यवसायिक लेनदेनको विषयमा बिहीबार मेचीनगरका व्यापारी पोखरेलले भारतका व्यापारी विकास र सञ्जिवलाई कुटपिट गरेको बताइएको छ। कुटपिटका विषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिँदा उक्त निवेदन लिन नमानेका कारण नाका बन्द गरिएको भारतीय व्यापारीहरुले बताएका छन्।
नाका बन्द भएका कारण मेची पुलको जाम खुलाउन प्रहरीलाई निकै गाह्रो भएको थियो ।