काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिँदैछन्। ओलीले सदनमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन्। सोही प्रस्तावमाथि छलफल सुरु भएको छ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ।
पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरूलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ।
सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने दलका एक नेताले जानकारी दिए।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ।
प्रधानमन्त्री ओलीले असार ३१ गते पद तथा गोपनीयताको शपथ लिएका थिए भने उनी असार ३० गते प्रधानमन्त्रीकाे रूपमा नियुक्त भएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































