
काठमाडौँ – अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आईकाओको रिपोर्ट एक हप्ताभित्र समितिमा पेश गर्न निर्देशन दिएको छ।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले मन्त्री बद्री पाण्डेलाई यस्तो निर्देशन दिएको हो। समिति बैठकमा बोल्दै समिति सभापति राजकिशोर यादवले मन्त्री पाण्डेलाई सन् २०२२ को आईकाओको रिपोर्ट समितिमा पेस गर्न निर्देशन दिएका हुन्।
उनले समितिको अर्को बैठकमा मन्त्री उपस्थित हुँदा समितिले दिएका सम्पूर्ण निर्देशन लिखित रूपमा ल्याउन सभापति यादवले निर्देशन दिए। उनले प्राधिकरण टुक्राउने विधेयक कहाँ कस्तो अवस्थामा रहेको हो? सोबारेमा समितिलाई जानकारी उपलब्ध गराउन पनि निर्देशन दिए।
उनले कोरिया जाने नेपाली कामदारको आउजाउमा कोरियन एयरलाइन्सको विकल्पलगायतका विषयमा आगामी बैठकमा कार्ययोजनासहित उपस्थित हुन मन्त्रीलाई निर्देशन दिए। उनले पोखरामा दुर्घटना भएको यती एयरलाइन्स दुर्घटनाको छानबिन रिपोर्ट अर्को बैठकमा उपलब्ध गराउन निर्देशन दिए। उनले ईयूको कालो सूचीबाट नेपाल नहट्नु पछाडिको कारण र त्यसमा क–कसको चलखेल भएको हो स्पष्ट तथ्य पेश गर्नसमेत निर्देशन दिए।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र पसलहरु राख्ने दिएको सम्झौताहरु एक हप्ताभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिए।