
मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल नेपालकै सबैभन्दा ठूलो तथा गहिरो ताल रारा घुम्न आउने आन्तरिक पर्यटककाे संख्या बढेकोछ।
बाह्य पर्यटक भन्दा रारामा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ। रारा एक पटक पुग्नै पर्छ भन्ने मान्यताका साथ आन्तिरक तथा बाह्य पर्यटक यहाँ पुुग्ने गर्छन्।
०८०/८१ को साउन देखि असार मसान्तसम्मको एक बर्ष अवधीमा १७ हजार २ सय ९७ जना आन्तरीक तथा बाह्य पर्यटक रारा पुगेका छन्।
रारा धर्तिमा भएपनि सबैले स्वर्गको टुुक्राका रुपमा वर्णन ञ गरेका छन र रारामा पाइला टेक्दा र दृष्य देख्दा स्वर्गको अनुभुति हुने भएकाले पर्यटकहरु रारालाई स्वर्गको रुपमा वर्णन गर्ने गर्छन्।
गत वर्ष रारा पुगेका पर्यटकहरु मध्य आन्तरिक १७ हजार, सार्क नागरिक ६० जना,अन्य देशका नागरिक २ सय ३७ जना गरेर १७ हजार २ सय ९७ पर्यटक रारा पुगेको रारा राष्टिय निकुञ्जको कार्यालय हुटु मुुगुका निमित्त संरक्षण अधिकृत जयहरी धितालले जानकारी दिएका छन्।
०७९/८० मा ११ हजार पर्यटक रारा पुगेका थिए। गत बर्ष ६ हजारले रारा पुग्ने पर्यटकहरु बृद्धि भएका हुन्।
रारा घुुम्ने समय फागुुन देखि असार अन्तिमसम्म,असोज देखि मंसिर र पुस देखि माघ महिना सम्म उपयुक्त मानिन्छ। सडक र हवाई यातायात सहज हुँदै जान थालेपछि रारामा पर्यटकको संख्यामा बढ्दै जान थालेको हो। पछिल्लो पटक अधिकांश आन्तरिक पर्यटक कर्णाली राजमार्गबाट दैलेख, कालीकोट, जुम्ला सिंजा क्षेत्र अवलोकन गर्दै रारा पुग्ने गरेका छन्।
हवाई मार्गभन्दा राजमार्गबाट पर्यटक रारा पुग्दा रमाउन पाउनुका साथै खस राज्य रहेको ठाउँको दृष्यालोकन गर्न पाइने भएकाले स्थलमार्गबाट पर्यटकहरु रारा पुग्ने गरेका छन्।
रारा आउने पर्यटकहरु घोडा चढेर मुर्माटपसम्म पुगेर फर्किने गरेका छन्। रारामा पर्यटकरु घोडा चढ्ने, डुंगा चढेर तालमा रमाउने, राराका असला माछा अवलोकन गर्नुका साथै यहाँ रहेका धार्मिक स्थलहरु लागुडा महादेव, छाप्रु महादेव,रारा महादेवहरुको दर्शन गर्ने गर्दछन।
कर्णाली राजमार्ग ब्यबस्थित नहुदाँ रारा विमानस्थलमा पनि नियमित हवाई उडान नहुदाँ रारा पुुग्ने पर्यटक एक पटक आईसकेपछि पुुन आउन आनाकानी गर्ने गरेका र नाग्मदेखि गमगढी सम्ममा सडक खण्ड स्तररोन्नति नहुदाँ, सडक कच्ची र ठाउँ ठाउँमा खाल्डाखुल्डी रहेकाले सवारी साधन आवत–जावतमा पर्यटकले सास्ती भोग्नु परेको पर्यटकहरु बताउँछन।
समुन्द्री सतहबाट २ हजार ९ सय ९०मिटर उचाइमा रहेको रारा तालको सौन्दर्य हेरेर दंग नहुने सायदै कोही नहोला। सफा, कञ्चन निलो बैजनी, सिम्रिक अनि कहिले खैरो। मौसम अनुसार दिनमै चार पाँच चोटी फेरिने राराको पानीको रङ्गमा सिन्जे र कान्जिरोवा हिमालको छाँया मिसिएपछिको दृश्य बर्णन गर्न लाएकको हुन्छ। अनि रारा साँच्चिकै धर्तीको स्वर्ग, स्वर्गको अप्सरा जस्तो देखिन्छ।
गत बर्षको साउनदेखि असार अन्तिम सम्म रारा राष्ट्रिय निकुञ्जको कार्यालयले ४५ लाख ९८ हजार ८ सय ७१ रुपैयाँ राजस्व उठाउन सफल भएको रारा राष्टिय निकुञ्जको कार्यालय मुगुले जनाएको छ।