
काठमाडौँ– नेपाल कमर्श क्याम्पसका प्रध्यापक धर्मराज बिष्टको हत्या गरी फरार रहेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्।
मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका ३२ बस्ने ३९ वर्षीय रञ्जन खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ।
२०६४ साल असार २६ गते ललितपुर महानगरपालिका २२ शंखमूलका बिष्टलाई खड्कासहित ३ जनको टोलीले रड र इँट्टा प्रहार गरी घाइते बनाएका थिए। बिष्टको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार धादिङ घर भई ललितपुर बस्ने सोबिता थापा (अधिकारी)को योजनामा हत्या भएको थियो।
सोबिताले नाम परिवर्तन गरी सोभिता राखेकी थिइन्। हत्या गर्ने टोलीमा सोबिताका भाइ विनोद थापा, लोकन्थली बस्ने राजिव पाण्डे र रञ्जन खडका थिए।
राजिव र विनोद घटनापछि पक्राउ परेका थिए भने रञ्जन फरार थिए। घटनापछि १७ वर्ष सम्म फरार रहकेका रञ्जन मंगलबार पक्राउ परेका हुन्।