
झापा- झापाका अग्रज पत्रकार तथा सूर्योदय टेलिभिजनका कार्यक्रम निर्माता टिकाराम नेपालकी श्रीमती मञ्जु नेपालको नाममा जम्मा गरेको एक करोड १९ लाख रुपैयाँ हिनामिना गरेर प्रभु बैंक बिर्तामोड शाखाका कर्मचारी प्रमोद सिटौला बुधबारदेखि बेपत्ता भएका छन्।
पत्रकार नेपाल श्रीमती मञ्जुका साथ केही समय अघि आफ्ना छोराहरूलाई भेट्न अमेरिका गएका थिए। अमेरिका जान अघि आफ्नो श्रीमतीको नाममा जम्मा भएको पैसाको निस्सा माग्दा सिटौलाले निकै बहानाबाजी गरेको पत्रकार नेपालले बुधबार उनले आयोजना गरेको पत्रकार सम्मेलनमा बताए।
अन्ततः सिटौलाले एक करोड १९ लाख रुपैयाँ जम्मा भएको लिखित निस्सा उपलब्ध गराएका थिए। उक्त रकममध्ये एक करोड १० लाख रुपैयाँ फिक्स्ड डिपोजिट गराएर त्यस्को पनि प्रमाण लिएर नेपाल अमेरिका गएका थिए।
छ महिनाको फिक्स्ड डिपोजिट म्याच्योर्ड भएपछि रकम निकाल्न जाँदा खातामा २ लाख रुपैयाँ मात्र छ भनेर बैंकले जवाफ दिँदा आफू तिकछक परेको नेपालले बताए।
त्यसपछि बैंकका कर्मचारी सिटौलासंग पैसा फिर्ताबारे कुरा गर्दा ‘म मिलाइहाल्छु’ भन्ने जवाफ दिएको नेपालले जानकारी दिए। बुधबार बिहान मात्र बिर्तामोड शनिश्चरे रोडमा रहेको ‘द मोमो फ्याक्टोरी’मा आएका सिटौला ग्यासट्राइटिसको औषधि किन्ने भन्दै उनको झोला त्यहीँ छोडी फरार भएका थिए।
त्यसपछि उनको फेसबुक एकाउन्ड डिएक्टिभेट छ भने मोबाइल फोन अफ रहेको छ।
इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली आएर झोला खानतलासी गर्दा विभिन्न व्यक्तिका नाममा रहेका चेकहरू, डेविट/क्रेडिट कार्डहरू, बैंक भौचरहरू फेला परेको छ।
पत्रकार नेपाल र उनका दाजु अधिवक्ता स्वागत नेपालले सिटौलासंग कुरा गर्दा आफूले अन्य ग्राहकलाई पनि त्यसरी नै झुक्याउने गरेको खुलासा गरेका छन्। उनले खुलासा गरेको उक्त भिडियो देशसञ्चारसंग सुरक्षित छ।
आफ्नो त्यत्रो रकम हिनामिना भएपछि बैंकका कर्मचारी सिटौला र बैंकमाथि पत्रकार नेपालले जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दिएका छन्।
यस्तो किसिमको बैंकिङ अपराध आफूले यस अघि नदेखेको अधिवक्ता स्वागत नेपालले बताए। उनले भने, ‘यो अपराध सानोतिनो अपराध होइन।’
सिटौलाको झोलाबाट बरामद भएका चेक र बैंक भौचरले उनले धेरै ग्राहकको पैसा बिगारेको अनुमान लगाउन सकिन्छ।
सोही घटनाबारे बैंकका शाखा प्रवन्धक गणेशबहादुर बरालसंग सम्पर्क गर्दा घटनाको छानबिन गर्न टोली चाँडै आउने बताए। आफ्नो कर्मचारीबाट भएको अपराध उनले फोनमा स्वीकार गरेका छन्।