
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्र सुधारका लागि भएको बताएका छन्।
मंगलबार संघीय संसद, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारबाट कसैलाई पनि दुःख दिने काम नहुने बताए। तर कसैले गल्ती गरेमा भने कानुनी कठघरामा उभ्याइने उनको भनाइ थियो।
उनले भने, ‘सरकार कुनै पनि हिसाबले कम्प्रमाइज गर्दैन। अहिलेको सरकार प्रतिशोधका लागि होइन। अर्थन्त्र सुधारका लागि हो। कसैलाई दुःख दिने काम हुँदैन। तर कसैले गल्ती गर्यो भने कानुनको कठघरामा उभिन्छन्।’
उनले अहिले देशमा असन्तुष्टि रहेको उल्लेख गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन गर्नुपर्नेमा जोड दिए।
‘देशमा फ्रस्टेसन छ। लोकतान्त्रिक मूल्य मान्यता अरु अनुशासनका क्षेत्रमा पनि प्रतिबिम्बित हुन्छन्। जनताको जीवनमा सकरात्मक परिवर्तन गर्नुपर्छ। हाम्रो काम जनताको सेवा गर्ने हो भनेर काम गर्नु पर्छ,’ उनले भने।
उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार कटिबद्ध रहेको बताए। उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा सरकार कटिबद्ध छ। करका दर वृद्धि गरेर दायर फराकिलो गर्छु भनेर मात्र हुँदैन। कर महसुलमा छली नहोस् भन्ने सरकारले बुझेको छ। यसका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्छ।’
तस्बिरहरुः बर्षा शाह