
काठमाडौँ- चितवनको सिमलतालमा दुई वटा बस भेलबाढीले बगाएको अध्ययन कार्यदलले निष्कर्ष निकालेको छ। गृहमन्त्री रमेश लेखकलाई मंगलबार प्रतिवेदन बुझाउँदै अध्ययन कार्यदलले सिमलताल दुर्घटनाको मुख्य कारण भेलबाढीलाई निष्कर्ष भएको जनाएको छ।
दुर्घटनास्थल माथिको भिरालो पहाडी क्षेत्रमा उचित इन्जिनियरिङबिना नै सिमलताल–बांगेसाल–डुम्रेगाउँ जाने बाटो हालै खनिएको र सडक खन्दा निस्किएको माटो जथाभावी फाल्दा त्यसले भेलबाढी उत्पन्न गराएको कार्यदलको निष्कर्ष छ। यसका अतिरिक्त दुर्घटनास्थल आसपासको भूगोल दुवैतर्फको भिरालो जमिन भएको पनि औंल्याइएको छ।
सडक निर्माण गर्दा ‘कट एण्ड फिल एप्रोच’ (सडक खन्दा निस्किएको माटो अलग्गै व्यवस्थापन) नगरी कटिङबाट मात्र सडक बनाइएको र अत्यधिक मात्रामा निस्किएको माटो सडकछेउको पाखामा त्यत्तिकै फ्याँकिएको पाइएको कार्यदलले निष्कर्ष निकालेको छ। यस्तै निष्कर्ष सडक डिभिजन भरतपुरले पनि निकालेको थियो। भरतपुर महानगरपालिका वडा नम्बर २९ पर्ने डुम्रेगाउँ जाने बाटो खन्न वडाले पाँच लाख रुपैयाँ छुट्टयाएको थियो।
वातावरणीय प्रभाव मूल्यांकनबिना नै खनिएको उक्त बाटोमा असार २७ गतेदेखि परेको पानीले चिरा पारेको, कतै जमिन भासिएर खोल्सी परेको र परेको पानीले जथाभावी फ्याँकिएको माटो बगाउँदा भेलबाढीको रूप लिएको सडक डिभिजन भरतपुरले जनाएको छ। गृह मन्त्रालयले गठन गरेको कार्यदलले पनि सडकमा कुनै टेवा, पर्खाल निर्माण नगर्दा वर्षाको समयमा पहिरो गइ सो पहिरो नै डेब्रिज (गेग्रान बहाव) को स्रोत बन्न पुगेको जनाएको छ।
असार २८ मा बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशुलीमा खसेर बेपत्ता भएका थिए । दुवै बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा भएको दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले अध्ययन पुरा गरेर गृहमन्त्रीलाई बुझाएको हो।
गृह मन्त्रालयका सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलमा नेपाल प्रहरीका वरिष्ठ उपरिक्षक भुपेन्द्र खत्री र यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला सहितका प्रतिनिधिहरु सदस्य छन्।