अयोग्य लडाकुको ट्याग पाएपछि मीरा राईले हिम्मत हारिनन् र स्पोर्टस्मा केही गर्नुपर्छ भनेर यस क्षेत्रमा लागिरहिन्।
ट्रेनिङ भनेर एकैचोटि ५० किलोमिटरको ट्रेल रनिङमा दौडन पुगेपनि उनले हिम्मत हारिनन् र उक्त स्पर्धामा पहिलो भइन्।
अनि विश्वभरि नै ट्रेल रनिङको क्षेत्रमा सफलता पाइन् उनले।
यतिखेर उनले खोलेको मीरा राई इनिसिएटिभले महिलालाईहरुलाई ट्रेल रनिङको ट्रेनिङ दिनुका साथै यस क्षेत्रमा पोख्त बनाउने दिशामा पनि काम गर्छ।
उनको अभियानअन्तर्गत २१ जनाले यसमा ग्राजुएट पनि गरिसकेका छन्। ‘म खासगरी महिलाहरुलाई यस क्षेत्रमा प्रेरणा दिन लागिरहेकी छु,’ उनले देशसञ्चार चौतारीको अन्तर्क्रियाका क्रममा भनिन्।
उनले अहिले खेलाडीहरुका लागि आवास बनाइरहेकी छन् फर्पिङमा।
उनले आफैँले कमाएको पैसाले जग्गा किनेर आफूले तालिम दिने खेलाडीहरुका लागि आवास बनाइरहेकी हुन्। ‘गोकर्णमा पनि ट्रेल रनिङको प्रशिक्षण केन्द्र बनाउन काम गरिरहेको छु,’ उनले भनिन्।
उनले आफ्नो जिल्ला भोजपुरमा ट्रेल रनिङको ५४ किलोमिटर लामो स्पर्धा पनि गराइरहेकी छन्। त्यस्तै काठमाडौँमा ‘स्तुपा टु स्तुपा’ भनेर अर्को ट्रेल रनिङको स्पर्धा पनि गराइरहेकी छन्।
अयोग्य लडाकु बनेपछि खेलकुदका क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिपरे पनि ट्रेल रनिङ नै आफ्नो पेशा र रुचिको क्षेत्र रहेछ भन्ने उनले थाहा पाइन्।
यस क्षेत्रमा नियमित ट्रेनिङ गरेर आफू यो स्थानमा आइपुगेको उनी बताउँछिन्।
हङकङमा पहिलोपटक ट्रेल रनिङमा जितेर अन्तर्वार्ता दिनुपर्दा गाह्रो भएर बेकारमा जितेछु भन्ने लागेको पनि उनी सुनाउँछिन्। ‘अन्तर्वार्ता दिनै नआएपछि बेकारमा यस क्षेत्रमा आएछु भएको थियो,’ उनी हाँस्दै सुनाउँछिन्।
माओवादीमा छँदा धेरै ट्रेनिङ गरे पनि उमेरका कारण अयोग्य भएर नेपाली सेनामा भर्ना हुन नपाएको तीक्ततालाई ट्रेल रनिङको क्षेत्रमा पाएको सफलताले बिर्साएको मीरा सम्झन्छिन्।
‘मैले धेरै मानिसको सपोर्टले यस क्षेत्रमा सफलता पाएँ, त्यही भएर अहिले म आफूजस्तै यस क्षेत्रमा केही गर्न चाहने महिला दिदीबहिनीहरुलाई सपोर्ट गरिरहेकी छु,’ उनी भन्छिन्।
आफूले ५० किलोमिटर हुँदै ८० किलोमिटर, १०० किलोमिटर र छ दिन हुँदै १० दिनसम्मको रनिङको अनुभव लिइसकेको उनी बताउँछिन्। ‘अहिलेसम्म म त कति कुदेँ, कुदेँ, प्रतिष्पर्धा र ट्रेनिङ गरेर धेरै कुदिसकेँ म अहिलेसम्म,’ उनी भन्छिन्।
ट्रेल रनिङलाई ओलम्पिकमा सहभागी बनाउने धोकोमा पनि उनी काम गरिरहेकी छन्।
पूरा भिडियो: