
मुगु – मुगालीका लागि उत्तरी नाक्चेलाग्ना नाका खुला गरिएको छ। मुगाली जनताको मागअनुसार आवश्यक सामग्री खरिद तथा बिक्री गर्न चीन र नेपाल सरकारको समन्वयमा नाका खुला गरिएको हो।
साउन १७ गतेदेखि ३१ गतेसम्मका लागि व्यापारिक नाका खुला गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए।
तिब्बतको ह्यँजिमारमा लाग्ने ब्यापारिक मेला भर्ने हरूका लागि जिल्ला प्रशासन कार्यालय मुगुबाट प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको प्रजिअ केसीले बताए।
नाका खुला भएपछि मुगुम कार्मारोङ गाउँपालिकाभित्रका १७ बस्तीका मानिस झोबा, घोडा, खच्चड, चौरी, लिएर आफूलाई वर्षभरि चाहिने दैनिक उपभोग्य माल–सामान खरिदका लागि हाटबजार लाग्ने स्थान तिब्वत हिँडेका छन्।
हाटबजारमा मुगालीले काठका लौरी, चुलीका भुजा, यार्सागुम्बा, जडीबुटी, नेपाली जुत्ता, चिनियाँ पक्षलाई बिक्री गर्छन् भने मुगालीले कम्बल, लत्ताकपडा, चामल, मैदा, चिनी, छुर्पी, चिया दाल तेल ,जस्तापाता, सौर्य सामग्री सिमेन्ट र सरिया, चिनियाँ व्यापारीबाट खरिद गर्ने गर्छन्।
कोरोनाको कारण देखाउँदै ५ वर्षअघि बन्द गरिएको यो नाका खुला भएपछि विशेष गरी करान भेगका लामा समुदायका मानिसलाई ठूलो राहत मिलेको छ। आफूहरूका लागि वर्षभरि चाहिने दैनिक उपभोग्य सामान खरिद गर्न पाएपछि स्थानीय निकै खुसी भएका छन्।