सहरी विकासका विज्ञ तथा काठमाडौँको पानी प्रणालीका जानकार तथा प्राचीन ‘हिति प्रणाली’माथि लेखिएको बृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’का लेखक प्राध्यापक पद्मसुन्दर जोशीसँग देश सञ्चार चौतारीको यस अंकका लागि हामी देशसञ्चार सहकर्मीले कुराकानी गरेका छौँ।
आजसम्मका मानव सभ्यता नियाल्ने हो भने पानी र प्रकृतिलाई श्रद्धा गर्ने सभ्यता मात्र संसारमा दिगो छ। काठमाडौँ उपत्यकाको नेवार सभ्यताको जग पनि पानी र प्रकृतिप्रतिको आदरबाट अभिप्रेरित छ। र जोशीका अनुसार उपत्यकाको पानी समस्या र पानीको अव्यवस्थाले निम्त्याउने विकराल समस्या आउन सक्ने अनुमान सुनाउँछन्, ‘सिथिनखः नेपालको मौलिक पृथ्वी दिवस हो। पानी सभ्यताको धरोहर ऐतिहासिक पर्व सिथिनखः नेवारहरूले आज पनि मनाइरहेका छन्। आजको विश्व जलवायु परिवर्तनको प्रहार खेप्न बाध्य भइरहेका बेला प्रकृति संरक्षणको यस अभियानलाई विश्वव्यापीकरण गर्न जरूरी छ। तर सुरूआत राष्ट्रिय संस्कृतिका रूपमा उपयोगमा ल्याएर गर्न सकिन्छ पानीलाई संरक्षण गर्न सकिएन हाहाकार हुनेछ,’ उनले भने।
जोशी उपत्यकाको साँस्कृतिक पक्ष कमजोर हुँदै जानुको कारण शाह वंश आएपछि बताउँछन्। किराँतकालमा बनेका हिति राणा र शाहकालमा मासिएको बताउँछन् जोशी।
उनी भन्छन्, ‘नेपालमा २५० वर्षभन्दा बढी राज गर्ने शाह राजाहरूले काठमाडौँमै बसेर यहाँको संस्कृतिभन्दा आफूलाई माथि र फरक गर्ने प्रयत्नले नै उनीहरूले धरातलमा खुट्टा टेक्ने ठाउँ नपाएका हुन्। गणतान्त्रिक नेपालका आजका शासकहरूले पनि राजनीतिक स्वार्थका पक्षबाट मात्रै सोच्ने काम भयो। अहिले मेयर बालेनले केही गर्ने हुटहुटि देखाउनु भएको छ तर काम गर्न सकिरहनु भएको छैन।’
‘पानीमा भोटको राजनीति हुन थालेपछि सबैले दुःख पाइने नै हो,’ उनले भने।
हिति प्रणाली पानीलाई संकलन गर्ने, जम्मा गर्ने र वितरण गर्ने परम्परागत मौलिक तरिका हो। तर अब त्यसबाट कोही सचेत छैनन् भन्ने लाग्छ जोशीलाई। बस्ती जति ठूलो हुँदै गयो पानीको व्यवस्थापन त्यति नै चुनौतीपूर्ण बन्छ। बस्तीभित्रका इनार, कुवा र पोखरीको पानीको उचित व्यवस्थापन हिति प्रणालीबाट हुन्छ।
सुख्खायाममा पानीको अभाव हुन्छ भने बर्खामा पहिरोको जोखिम हुन्छ। यसरी विभिन्न याममा आउने पानीको समस्याको उचित व्यवस्थापनको लागि त्यसबेला हिति प्रणालीको विकास गरिएको बताउँछन् जोशी।
लिच्छविकालदेखि नै बुढानीलकण्ठ, टीकाभैरव, नगरकोटमुनिदेखिको बागेश्वरीजस्ता हिति प्रणाली विकास भएको बताउँछन्। उनी भन्छ्न्, ‘त्यसबाहेक साना–साना प्रणाली उपत्यकाका सबै बजार र बस्तीमा व्यवस्थापन गरिएको थियो। सिनगु विहार, स्वयम्भूमा लिच्छवी राजा वृषदेवले हिति प्रणाली सुरु गरेको भनेर गोपाल राज वंशावलीमा पाइन्छ।’
जोशीका अनुसार सबैभन्दा पुरानो हिति प्रणालीको १५ सय वर्षअघि मानदेवका नाती भारवीले स्थापना भएको थियो।
‘हालसम्म सञ्चालनमा रहेको मंगला हिति सन् ५७० मा स्थापना गरिएको हो। यसलाई सबैभन्दा पुरानो हिति मानिन्छ। यस्तै, हाडीगाउँको अर्को हिति भने हाल अस्तित्वमा छैन। यस्तै, अरु थुप्रै हिति अहिले चल्नै छाडेका छन्,’ उनले भने, ‘यी हितिमध्ये लगभग २०० वटा हितिमा बर्खाको समयमा पानी चल्छ। २८० वटा हिति पूरै सुख्खा भएको छ भने ९३ वटा हिति लोप भएका छन्। ती हिति कहाँ थिए भन्ने पनि फेला परेको छैन।’
प्रायः हितिको मुख गोहीको जस्तो हुन्छ। गोहीको मुखजस्तो धाराबाट पानी झर्नुको विशेष अर्थ रहेको बताउँछन् जोशी भन्छन्, ‘गोही भनेको गंगाको बाहन हो। त्यसैले गंगाको मुखबाट पानी झार्नुपर्छ भनेर विभिन्न किसिमको कलाकृति बनाइएको हुन्छ। जसलाई हिति मकर पनि भनिन्छ।’
त्यसैगरी हितिमा शंख फुकेको मानिस पनि देख्न सकिन्छ ती हुन भगिरथ। भगिरथ प्रयासले मात्र हुन्छ भन्ने मान्यताले प्रत्येक हितिमुनि भगिरथ राखिन्छ जनविश्वास छ।
हितिसँग सम्बन्धित जात्रा मच्छिन्द्रनाथको जात्राको विषयमा पनि उनले जानकारी दिए। सुख्खायामको समयमा पानीको व्यवस्थापनको विषयसँगै यो जात्रा पनि जोडिन्छ। उनी भन्छन्, ‘पोखरी भर्न राजकुलो व्यवस्था गरेपछि मात्रै पानी आउँछ भन्ने हुन्छ। नख्खु, टीकाभैरवदेखि ल्याएको पानी भर्न पाइन्छ। अनि जात्रा गर्न पाइन्छ भन्ने थियो। तर अहिले यी सबै लोप भए। यस्ता खालका जात्राले समाजले व्यवस्थापन गरेर राखेका थिए।’
पञ्चायतकालमा रत्नपार्कबाट भोटाहिटी जानलाई भनेर ‘सब वे’ बनाइएको थियो। जुन २०९७ भदौमा चर्चामा आयो।
काठमाडौँ महानगरले पसलहरु हटाएर खालि गर्न लगाएको भोटाहिटी नजिकैको ‘सब वे’ का लागि बालेनले पहल गरे। त्यो सब वे ऐतिहासिक तथा पुरातात्विक महत्वको ढुङ्गेधारा मासेर निर्माण गरिएको बारे पनि जोशीले खोतले।
उनले भने, ‘त्यो बाटो बनाउनका लागि जमिन खन्दा एकदमै पुरानो लिच्छविकालीन हिटी भेटिएको थियो। त्यो धेरै पुरानो अर्थात् अंशु बर्माकालीन हिटी थियो। कतिपयले त्यसलाई भोटाहिटी पनि भन्छन्। तर, त्यो भोटाहिटी भने होइन।अहिले साझा भण्डारको ठूलो भवन जहाँ बनेको छ, त्यसको मुनि छ भोटाहिटी।’
जोशीले भने, ‘त्यो बेलाको सरकार र नगर पञ्चायत मिलेर यसलाई पुरेर सब वे बनाए। हिटीमंग (पानी आउने डुंगेधारो) लगेर राष्ट्रिय संग्रहालयमा राखिएको छ भन्ने बुझिन्छ। ती हिटीहरुलाई पुरेर, छोपेर पठाएको हो। सँगै यतातिर ‘सब वे’ बनाइएको हो भन्ने छ। अहिले जुन ‘सब वे’ सञ्चालनमा छ, त्यो सँगै हिटी थियो।’
२–४ अपवाद बाहेक नागबेली परेका सडक राजकुलो मासेर बनेको भन्छन् उनी।
‘काठमाडौँ उपत्यकामा रहेको हिति प्रणाली बचाउन स्थानीयवासी जागरुक नभएसम्म कसैको पनि केही लाग्दैन,’ उनले भने।
जलवायु परिवर्तनका कारण पानीको समस्या बढ्दै जानु अब नौलो रहेन। उनी भन्छन्, ‘हाम्रा बाबुबाजेले मैदानलाई पानी ‘रिचार्ज’का लागि प्रयोग गर्थे। यसै अवधारणालाई अपनाउँदै प्राकृतिक रुपमै पानीको हाहाकार अन्त्य गर्न सकिन्छ।’
‘जसको लागि पानीको मुहान र निकासको नक्सांकन गर्ने, स्थानीय बुढापाकाको सोचलाई पछ्याउँदै हिति प्रणालीलाई राष्ट्रिय सम्पदाका रुपमा प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।
भिडियो: