
झापा- ‘अन द जब ट्रेनिङ’ (ओजेटी) मा आएका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। तर पक्राउ परेका एक जनालाई भने म्याद थप गर्न लैजाँदा अदालतले म्याद नदिएको प्रहरीले जनाएको छ। अदालतले म्याद नदिएपछि पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालक अलेक मेचे रिहा भएका छन्।
पावरटेक कम्प्युटरका सञ्चालक मेचे र सोही कम्प्युटर सप्लायर्सका कर्मचारी शिक्षक नारायण खनाललाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको थियो।
अनुसन्धानका लागि म्याद थप गर्न आइतबार अदालत लगिएकोमा मेचेको हकमा अदालतले म्याद थप नगरेको र खनाललाई भने हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको इलाका प्रहरी कार्यालय, बिर्तामोडका डिएसपी प्रकाश विष्टले बताए।
बिर्तामोड नगरपालिका २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचे र खनाललाई पक्राउ गरेको थियो।
कम्प्युटर इञ्जिनियरिङको ओजेटीका लागि आएका विद्यार्थीमाथि उनीहरूले बालयौन दुरुपयोग गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो।
मेचे र खनालले ओजेटीमा आएका विद्यार्थीहरूलाई विभिन्न स्थानमा घुमाउन लैजाने, आइफोन किनिदिनेजस्ता प्रलोभन देखाउने, संवेदनशील अंगमा छुने, सुम्सुम्याउने, ‘ब्याडटच’ गर्ने, नदिए ओजेटीको प्रमाणपत्र नदिनेजस्ता धम्की देखाएको भन्दै विद्यार्थीले अभिभावकलाई सुनाएका थिए। लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएसँगै प्रहरीलाई खबर गरेका थिए।
विद्यार्थीहरू ५० दिनको लागि ओजेटीमा पावरटेक कम्प्युटरमा ओजेटीका लागि गएका थिए।