
काठमाडौं- आइतबारबाट सु भएको एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको उद्घाटन खेलमा कोशीले वालिङ नगरपालिकालाई ४-० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
कोशीको जितमा समीक्षा मगरले दुई गोल गर्दा सन्जुमाया तामाङले अर्को एक गोल गरेकी थिइन्। वालिङकी यमकुमार विकले अर्को एक गोल आत्माघाती गोलका रुपमा कोशीलाई उपहार दिएकी थिइन्।
खेलको १०औं मिनेटमै सन्जुको गोलमार्फत कोशीले सुरुआती अग्रता बनाएको थियो। वालिङ विरुद्ध मैदानमा बलियो देखिएको कोशीले त्यसपछि पनि लगातार गोलका मौका बनाएपनि पहिलो हाफमा थप गोल गर्न भने सकेन्। यद्यपि दोस्रो हाफमा कोशीले सुरुवातमै अग्रता बनायो।
५१ औं मिनेटमा समीक्षाले टिमको अग्रता दोब्बर बनाउँदा त्यसको आठ मिनेटपछिनै उनले व्यक्तित दोस्रो र टिमका लागि तेस्रो गोल सम्भव बनाइन्। ६९औं मिनेटमा यमकुमारीले आफ्नै पोस्टमा गोल गर्न पुग्दा कोशीले ४-० को अग्रता बनायो।
उक्त अग्रतालाई अन्तिम सम्म कायम राख्दा कोशीले महत्वपूर्ण ३ अङ्क हासिल गर्न सफल भयो। सोमबार सुदूरपश्चिम प्रदेशले बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ। सुदूरपश्चिम एन्फा महिला लिग छनोट पार गरेर आइपुगेको हो। बागमतीलाई भने एन्फाले सीधै लिगमा स्थान दिएको टोली हो।